News

Apr 13, 2009

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय कार्य समितिको मिति २०६५ चैत्र २८ र २९ गते मञ्चको संघीय कार्यालय अनामनगर, काठमाडौंमा सम्पन्न १९औं पूर्ण बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. मञ्चको १८औं पूर्ण बैठकले कथित आदिवासी जनजाति गणतान्त्रिक राष्ट्रिय मोर्चा नामक संगठन मञ्चको निर्णयबेगर गठन भएको र मञ्चका सदस्यहरु त्यस मोर्चामा रहेर कार्य गर्दा मञ्चको हित विपरीत हुने ठहर गरेको थियो । तर, बैठकमा आफैले सही गरेको उक्त निर्णयलाई लत्याएर मञ्चका अध्यक्ष मण्डल सदस्य कमल छाराहाङले मञ्चको समानान्तर अर्को पार्टीसरहको उक्त कथित मोर्चाको अध्यक्षता ग्रहण गरी यही चैत्र १७, १८ गते सम्मेलनसमेत गरेको, मञ्चले सरकारसँग ५ बुँदे सहमति गरेर संविधान सभामा सरिक हुँदा उक्त ५ बुँदे सहमति र संविधान सभाकै विरोध गरेता पनि मञ्चले नीजलाई समेट्ने अथक प्रयास गरेको तर उनी हरबखत अराजक, एवम् फुटपरस्त गतिविधिमा संलग्न र अवाञ्छित तत्वहरुको सम्पर्कमा रहेको हुँदा उनको त्यस कार्य मञ्चको हित, निर्णय र विधान विपरीत भएको ठहर गरी मञ्चको विधान २०६२ को भाग ६ धारा १८ को (झ) र (ड) अनुसार साधारण सदस्यसमेत नरहने गरी मञ्चबाट निष्काशन गरिएको छ ।
२. मञ्चका अध्यक्ष र महासचिवको उपस्थितिमा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को दोस्रो राष्ट्रिय सम्मेलन २०६५ फागुन १८, १९ र २० गते पान्थरको फेदेनमा सम्पन्न हुँदा मञ्चका सचिवालय सदस्य बालकुमार थाम्सुहाङ (मिसेकहाङ) ले पनि एउटा राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उनको प्रतिवेदनमा मञ्च सम्वद्ध परिषद्हरु संविधान सभामा सहभागी हुनु ठूलो गल्ती भएको, अहिले नै सशस्त्र क्रान्ति गरिहाल्नु पर्ने र मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् संलग्न संयुक्त लिम्बुवान मोर्चा, नेपाल तुरुन्त विघटन गर्नुपर्नेलगायतका मुख्य प्रस्तावहरु थिए । सम्मेलनमा उपस्थित सातसय जना प्रतिनिधिहरुमध्ये एकजनाले पनि उनको प्रतिवेदनलाई स्वीकारेनन् । यसपछि, लिम्बुवानको ९ वटै जिल्लाका अध्यक्षहरुले परिषद्मा समाहित भएर जान अनुरोध गरे । परिषद्को पान्थर फेदेनमा बसेको पूर्ण बैठकले नीज मिसेकहाङलाई परिषद्मै समेट्न एक समितिसमेत तत्कालै गठन गरेको थियो । तर, उनले ती सबै अनुरोध र निर्णयलाई लत्याएर कुनै अवाञ्छित तत्वको र्इशारामा सम्मेलनको एकदिनपछि नै उनी संयोजक रहेको मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् (क्रान्तिकारी) नामक छुट्टै समानान्तर संगठन/पार्टी पत्रकार सम्मेलन गरी घोषणा गरे । सम्मेलनबाट चुनिएको आधिकारिक मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले उनको अराजक क्रियाकलाप, सम्मेलन नै असफल बनाउन रचेको षडयन्त्र, विगतमा पनि परिषद्को निर्णय पटक पटक उल्लङ्घन गरेको र लिम्बुवानको आन्दोलनलाई नै तहस नहस बनाउन विभिन्न समयमा खेलेको नकारात्मक कार्यकलापको भण्डाफोर गर्दै तत्काल उनलाई परिषद्को साधारण सदस्यसमेतबाट हर्टाई मञ्चलाई पनि साधारण सदस्यसमेतबाट हटाउन मञ्चमा सिफारिश गर्‍यो । यिनै पृष्ठभूमि र परिषद्को सिफारिशलाई समेत मध्यनजर गरी उनको उक्त क्रियाकलापहरु मञ्च र सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को हित र विधान विपरीत भएको ठहर गरी मञ्चको विधान २०६२ को भाग ६, धारा १८ को (झ) र (ड) अनुसार नीज बालकुमार थाम्सुहाङ -मिसेकहाङ)लाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ । कुमार लिङ्देन "मिराक" अध्यक्ष रहेको संघीय लिम्बुवान राज्य परिषद्मात्र यस संघीय लोकतानित्रक राष्ट्रिय मञ्चसंग आधिकारिक रुपमा सम्वद्ध रहेको र लिम्बुवानका अन्य कुनै संगठनहरु पनि यस मञ्चसंग सम्वद्ध नरहेको जानकारी गराउँदछौं । अन्य कसैले मञ्च सम्वद्ध भन्नु भ्रम र धोका भएकोले त्यस्ता गलत कार्यहरु तत्काल रोक्न सूचित गर्दछौं, नरोकेमा त्यस्ता भ्रमित कार्यहरु दण्डनीय हुने चेतावनीसमेत जारी गर्दछौं ।
३. अध्यक्ष राजकुमार नाल्बो र महासचिव कुसुम जेबी लिङ्देन रहेको मञ्चको जनवर्गीय संगठन संघीय युवा मञ्च संघीय कार्य समितिलाई चाडै पुनःर्गठन गर्ने गरी हाललाई विघटन गरिएको छ ।
४. मञ्च संविधानभाको पन्ध्रौ दल हो । मञ्चले संविधान सभामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको खाका प्रस्तुत गरिसकेको छ । आफ्ना मागहरु पूरा गराउन मञ्च सम्वद्ध राज्य परिषद्हरुले यही २०६६ वैशाख १६ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गर्ने निर्णय गरिएको छ ।
............... ................
डी. के. बुद्धिष्ट - अध्यक्ष
खगेन्द्र माखिम- का. महासचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय कार्य समिति
मितिः २०६५।१२।३०

No comments: