News

Apr 14, 2009

धर्नामा बसेका सुकुम्बासीलाई ट्रकले किचेर मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी समर्थित सुकुम्बासीले गरेको धर्नामा ट्रकले किचेर आइतबार राति तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिमरा गाविस- २ की ४५ वर्षीय देवीमाया फुयाँल, ११ वर्षकी सेतीमाया परियार र १० वर्षका सुगम मुक्तान रहेका छन् । फुयाँल र परियारको घटनास्थलमा र मोक्तानको उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहकी बहिनी शान्ति सिंहको नाममा रहेको सात बिघा जमिन ६ महिनाअघि कब्जामा लिएर बसेका सुकुम्बासीको बस्तीमा शुक्रबार राति अज्ञात समूहले बम विस्फोट, आगजानी र कुटपिट गरेको थियो । सो घटनाका दोषीमाथि कारबाही, घाइतेको उपचार र क्षतिपूर्तिको माग गर्दै माओवादीनिकट अखिल नेपाल भूमिहीन तथा सुकुम्बासी संघले शनिबार बिहानदेखि सिमरास्थित त्रिभुवन राजपथमा धर्ना दिएको हो । धर्नाका क्रममा सडकमा सुतेर निदाएका सुकुम्बासीलाई राति १० बजे तीव्र गतिमा आएको ना.१ख४७४२ नम्बरको ट्रकले किचेको थियो । घटनामा उद्धव विक, विमला विक, रुद्र रसाइली र लक्ष्मी गुरुङ घाइते बनेका छन् । गुरुङको अवस्था गम्भीर छ । घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल र प्रहरी उपरीक्षक माधव जोशी तथा एकीकृत माओवादीका जिल्ला इन्चार्ज लालकिरण र सुकुम्बासी प्रतिनिधिसहितको वार्ताटोलीबीच इलाका प्रहरी कार्यालय सिमरामा राति ९.४५ बजे भएको वार्ता सहमतिमा टुंगिएर सडक सुचारु गर्ने तयारी हुँदै गर्दा सो घटना भएको हो । वार्तामा घाइते सुकुम्बासीको उपचारखर्च, आगजनीमा परेका घरको क्षतिपूर्ति र सुकुम्बासीलाई व्यवस्थित बसोवास गराउने सहमति भएको थियो । वार्तामा भएको सहमति पढेर सुनाउन सुकुम्बासी बस्तीमा प्रहरी टोली जाने क्रममा सडकमा सुतिरहेका सुकुम्बासीलाई ट्रकले किचेपछि र घटनाले अर्कै रूप लिन पुगेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुजन जोशीले बताए । सुकुम्बासीले घटना रहस्यमय र षड्यन्त्रमूलक ढंगबाट भएको आरोप लगाएका छन् । स्थानीय प्रशासन र आन्दोलनकारीबीच सहमति भएपछि वार्ता भाँड्न चाहने तत्त्वले बस्तीबाट सुकुम्बासीलाई हटाउन नियोजित रूपमा हत्या गरिएको अखिल नेपाल सुकुम्बासी तथा भूमिहीन संघकी अध्यक्ष उमा राईले बताइन् । भूमाफिया र स्थानीय प्रशासनको मिलेमतोमा हत्याकाण्ड गराइएको उनको आरोप छ । वीरगन्ज पथलैया करिडोर क्षेत्रको त्रिभुवन राजपथसँग जोडिएको सो जमिनको मूल्य झन्डै ५० करोड पर्ने भएकाले सुकुम्बासी र भूमाफियाले हात पार्न प्रयास गर्दै आएका छन् । सो बस्तीमा यसअघि तीनपटक अज्ञात समूहले आक्रमण गरेको थियो । ट्रकचालक हेनपा- ८ का लक्ष्मण भुर्तेललाई सुकुम्बासीले राति नै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा बुझाएका छन् । चालक भुजेलले अत्यधिक मदिरा सेवन गरेकाले घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । निरीक्षक जोशीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनापछि सुकुम्बासीले नारा-जुलुससहित पथलैया, सिमरा र निजगढमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरूले निजगढमा ना.२ख८०१० नम्बरको यात्रुवाहक बस तोडफोड गरेका थिए ।

No comments: