News

Apr 15, 2011

ऋण खोजेर २२ किलोमिटर सडक निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थानीयबासीले ऋण खोजेर म्याग्दीको सदरमुकाम बेनीदेखि बरङ्जा गाविसलाई जोड्ने हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा सडक निर्माण गरेका छन्। उनिहरुले हाँडेभिरदेखि बरङ्जाको झाँक्रेपानीसम्म २२ किलोमिटर सडक निर्माण गरेका हुन् । सडक निर्माण गर्न ६० लाख रुपैया खर्च भएको निर्माण समितिका सचिव दण्डपानी सापकोटाले बताउनुभयो । उहाँका अनुसार जिविस र गाविसले गरि २५ लाख रुपैया अनुदान उपलब्ध गराएका छन् भने बाँकी स्थानीयबासीले आफ्नो जग्गा जमिन र पेन्सनपट्टा धितो राखेर ऋण लिई सडक खनेका हुन् । सडकको उद्घाटन संबिधानसभाका सभाषद् गोविन्द पौडेल, थममाया थापा र गमबहादुर श्रिसले गर्नुभएको थियो । नव वर्षको अवसरमा सडक उद्घाटन भएपछी स्थानीयबासीले नाचगान र भोजभतेर गरेर खुसीयाली मनाएका छन् । सडकमा सवारी साधन सञ्चालन हुन थालेपछि दैनिक उपभोग्य सामान सस्तोमा पाईने थालेको छ । गाउँमा उत्पादीत तरकारी दूध लगायत कृषि उपज निर्यात गर्न सजिलो भएको स्थानीयबासीले बताएका छन् । सडकसँगै पर्यटकीय सम्भावना युक्त झाँक्रेपानीमा पर्यटन विकासमा टेवा पुग्ने बरङ्जाबासीको अपेक्षा रहेको गाविस सचिव खगराज शर्माले बताउनुभयो ।

No comments: