News

Apr 11, 2011

राष्ट्रपतिद्वारा संविधान निर्माणमा जुट्न दललाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तनहुँ, चैत्र २८ - राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्ने समय नजिकिंदै गरेकोले दलहरुलाई एक भएर संविधान निर्माणमा जुट्न आग्रह गरेका छन् । भानु–३ चुँदीरम्घास्थित आदिकवि भानुभक्त अचार्यको जन्मस्थलमा आयोजित भानु साहित्यिक महोत्सवको सोमवार उद्घाटन गर्दै राष्ट्रपति यादवले दलहरुले थपिएको समयसिमा भित्र नै संविधान जारी गर्नुपर्नेमा जोड दिए । संविधान जारी हुनुपर्ने समय अव धेरै छैन’ दलहरुले समयमा नै संविधान जारी गरी जनताको भावनाको कदर गर्न आग्रह गर्दै राष्ट्रपति यादवले भने, ‘अव सवै दलहरु संविधान निर्माणमा नै लाग्नुपर्छ ।’ उनले दलहरुले आपसी द्वन्दलाई विर्सिएर जन आन्दोलन २०६२/२०६३ को मर्मलाई स्थायित्व गर्न एक भई संविधान निर्माणमा जुट्नु पर्ने वताए । ‘दलका नेताहरुवाट जनताको भावनाको उपेक्षा हुन्न भन्ने मैले आशा लिएको छु’ राष्ट्रपति यादवले भने, ‘मुख्य गरी छ दलका नेताहरुले अव छिट्टै जनताको संविधान निर्माणमा लाग्नुपर्छ ।’ भानुभक्तले रामायाणमा नेपाली भाषामार्फत जनतालाई एकतामा जोड्ने काम गरे’ उनले भने, ‘तपाई संविधान सभाका सभासदहरुले पनि संविधान मार्फत मुलुकलाई एकतामा जोड्नु हुने छ भन्ने जनताको आशा छ ।’ उनले संविधान मार्फत सवै जातजातिको भाषा, संस्कृति र धर्मलाई विश्वासमा लिएर अघि वढ्न दलका नेतालाई आग्रह गरे । तनहुँमा यसअघि पटक पटक आएको भएपनि आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा टेक्न पाउँदा खुसी लागेको राष्ट्रपति यादवले वताए । राष्ट्रपति यादवले भानु जन्मस्थल विकास समितिमा रहेको पुस्तकालय र संग्राहलयको समेत अवलोकन गरे । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जातीय संघीयताले मुलुकमा अस्थिरता सृजना गर्ने तथा आदिकवि भानुभक्तको भावना र विचारको उपेक्षा गर्ने तर्क अघि सारे । उनले सवै दलका नेताहरु एक भएर संविधान जारी गर्नु अपरिहार्य रहेको वताए ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्रज्ञा प्रतिष्ठानका उपकुलपति वैरागी काईला लगायतका साहित्यकारहरुले समेत भानुभक्तको राज्यले उपेक्षा गरेको वताएका थिए ।

No comments: