News

Apr 23, 2011

इन्द्रबहादुर राईको आतिथ्यमा हङकङमा नेपाली साहित्य तथा विचार गोष्ठी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देश सुब्बा
हङकङ नेपाली महासंघको आयोजना र हङकङ नेपाली साहित्य प्रतिष्ठानको संयोजनमा अप्रिल २२ तारिख शुक्रबार साँझ ६ बजे याउमा तेइको क्युनिटि हलमा नेपाली साहित्यका शिखर पुरुष डा. इन्द्रबहादुर राईको प्रमुख आतिथ्यमा वृहत साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन नयाँ ढंगबाट भएको थियो । प्रमुख अतिथि ढोकाबाट प्रवेश भएपछि नवबुद्ध आमा समूहका बालबालिकाहरूले नेपाली भेषभूषामा नमस्कार गरेर स्वागत गरेका थिए । त्यसबेला गोपाल योञ्जनको राष्ट्रिय गीत ‘ बनेको छ पहराले यो छाती मेरो ...’ बोलको गीतको धुन बजिरहेको थियो । मञ्चमा प्रवेश भएपछि विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरूले हातमा फूल दिएर स्वागत गरेका थिए । त्यही फूललाई प्रमुख अतिथिले एउटा ठूलो कलशमा हालेपछि कार्यक्रमको उद्घाटन भएको थियो । त्यसबेला पछाडिबाट संगीतको अर्को मीठो धून ‘थरी थरी पूmल एउटै बाजा...’ बजिरहेको थियो । उद्घाटनको प्रक्रियाले विभिन्न जातजातिका भए पनि ‘हामी एउटै नेपाली हौँ’ भन्ने सन्देश दिइरहेको थियो ।
महासंघले आफ्नो वार्षिक कार्यक्रममा नेपाली समाजलाई योगदान पु¥याउने नेपालीहरूलाई पुरस्कृत गर्दै आएकोमा यस पटक नेपाली समाजलाई योगदान पु¥याउने विदेशी नागरिकहरूलाई पनि सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेमा ब्रिटिश नागरिक जोहन वाललेप्टन, सिन्डी च्वन चाइनिज, कारीन निङलिन्चीन भारतीय र दीपक सुबेदी नेपाली हुन् । जोहनले नेपालको बारेमा अंग्रेजी भाषामा पुस्तकहरू लेखेर विश्वमा नेपाली चिनाउने काम गरेका छन् । उसको प्रसिद्ध पुस्तक ‘ हिस्टोरी अफ नेपाल’ हो । सिन्डीले चाइनीज विश्व विद्यालय हङकङबाट ‘इथनीक माइनोरीटि मिडिया’ मा विद्यावारिधि गर्दै छिन्, कारीनले ‘इथनीक माइनोरीटि’ मा हङकङ विश्व विद्यालयबाट विद्यावारिधि गर्दै छिन् भने दीपक सुबेदीले त्रिभुवन विश्व विद्यालय नेपालको स्नात्तोतरमा ‘नेपाली साहित्यमा हङकङको योगदान’ विषयमा शोधपत्र तयार गरेका छन् ।
११ जना कविहरूले भाग लिएको कविता गोष्ठीमा दीपा एवाइ राई प्रथम, प्रकाश रोदुङ राई दोस्रो र मोहन गुरुङ्ग तेस्रो भएका थिए । थुप्रै अप्रयोगिता कविताहरू प्राप्त भएका थिए, कति इमेलबाट पनि प्राप्त भएका थिए तर समयको अभावले वाचन हुन सकेनन् । कविताको निर्णायकमा कविहरू टंक सम्बाहाम्फे, कमल पौडेल र पशन तमू रहेका थिए । हङकङबाट उत्पादित विचारहरूमा भयवाद, समुच्च विचार, रेखा कविता र जनजाति साहित्य हो । देश सुब्बाले ‘भयवाद र रेखा कविता’ र भूपेन्द्र चेमजोङले ‘जनजाति साहित्य’ को बारेमा कार्यपत्र पेश गरेका थिए । देश सुब्बाले बोल्ने क्रममा घोषणा गरेका थिए, ‘महासंघले स्थापना कालदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यस मध्येको यो सर्वश्रेष्ठ कार्यक्रम हो ।’ टंक सम्बाहाम्फेले ‘हङकङेली नेपाली साहित्य’ र दीपा एवाइ राईले ‘समुच्च विचार’ को कार्यपत्र समयको अभावले प्रस्तुत हुन सकेन ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि डा. इन्द्रबहादुर राईले ‘नेपाली साहित्य, विश्व साहित्य, धर्म, सौन्दर्य शास्त्र, संरचनावाद, अस्तित्ववाद, भयवादबारेमा बोल्नु भएको थियो । भानुभक्तको रामायणमा उल्लेख भएको झोँकलाई मौलिक नेपाली झोँक हो र झोँक धेरै प्रकारको हुन्छ भन्नु हुँदा श्रोताहरूले हर्षले ताली बजाएका थिए ।’ अन्त्यमा ‘हामीले हाम्रो मौलिक कुरा खोज्नुपर्छ र लेख्नुपर्छ भन्नु भएको थियो ।’
नेपाली महासंघ हङकङका अध्यक्ष प्रदीप थापाले ‘हङकङ नेपाली महासंघको यस कार्यक्रममा महासंघका सदस्य संस्थाहरू गैर सदस्य संस्थाहरू, व्यापारीहरू, साहित्यकारहरू, पत्रकारहरू सबैको सहयोग, सकारात्मक भावना र सबैको नैतिक समर्थनले कार्यक्रम सफल भएको हो । यसरी नै हामी सबै एकजूट भएर अगाडि बढ्नुपर्छ । यो एकताको ठूलो उदाहरण हो भन्नु भयो ।’
कार्यक्रम हङकङ नेपाली महासंघको अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य महासंघ उपाध्यक्ष विष्णु पाख्रिनले गरेका थिए र उद्घोषण महासंघका महासचिव रीता गुरुङ्गले गरेकी थिइन् । कार्यक्रम कविता गोष्ठी, विचार गोष्ठी र प्रमुख अतिथिको मन्तव्य गरी तीन चरणमा विभाजन गरिएको थियो । यस कार्यक्रमलाई मिडिया पार्टनर मूलबाटोले विश्वभर प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमको सफलताको लागि संसारभरबाट इमेल, फोनबाट शुभकामना सन्देश प्राप्त भएको थियो ।

No comments: