News

Apr 19, 2011

ठमेलमा यौनजन्य गतिविधि रोक्न सादा पोशाकमा प्रहरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ठमेल क्षेत्रमा खुलेआम यौनजन्य गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । त्यसका लागि खटिएका सादा पोसाकका सुरक्षाकर्मीले दोषीलाई हदैसम्मको कारबाही गर्नेछन् । रंगेहात पक्राउ परे प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित गराई कम्तीमा एक महिना थुनामा राखेर मुद्दा चलाउनेबारे ठमेलका सरोकारवाला सहमत भएका छन् । त्यसको अनुगमनका लागि सुरक्षाकर्मी परिचालन गर्नेबारे सहमति भएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । परिषद्, प्रहरी निकायहरू, उक्त क्षेत्रका चार वडा कार्यालय, मसाज र डान्स बारका प्रतिनिधिबीच आइतबार र सोमबार भएको बैठकले यस्तो सहमति गरेको हो । लैनचौर र दरबारमार्ग प्रहरी प्रभागले आइतबारदेखि ठमेलको अति संवेदनशील मानिएको सञ्चयकोष भवन, ज्याठा मार्ग र पकनाजोल क्षेत्रमा सडकका दुवै छेउमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । ठमेलको सामुदायिक र पर्यटक प्रहरीले हरेक दिन माइकिङ गर्दै मसाज, होटेल व्यवसायी र बार र घरबेटीहरूलाई त्यस्तो गतिविधि हुन नदिन चेतावनी दिन थालेको छ ।
श्रेष्ठका अनुसार मसाजको नाममा यौनजन्य गतिविधि चलाउने घरबेटी र डान्स बार कारबाहीमा पर्नेछन् । केही बारहरूले निजी सुरक्षा गार्डको नाउँमा १०/१२ जना दलालहरू राखेर यौनकर्मी मिलाउने कार्य गर्दै आएको प्रहरीको दाबी छ । परिषद् र प्रहरीले ठमेलभरि साताभित्र स्पष्ट आचारसहिंता उल्लेख गरिएका साइनबोर्डहरूसमेत राख्ने भएको छ । बढी भाडाको लोभमा यौनजन्य गतिविधिका लागि घर दिने घरधनीलाई सार्वजनिक अपराध ऐन र जीउ मास्ने बेच्ने मुद्दामा कारबाही चलाउने लिखित सूचना राखिनेछ । आचारसहिंताका प्रतिलिपि सरोकारवाला सबै व्यवसायीहरूलाई बुधबारसम्म पठाइसकिने परिषद्ले जनाएको छ । लैनचौर प्रहरी प्रभागका निरीक्षक शिवबहादुर सिंहले अहिले स्थिति नियन्त्रणमा रहेको बताए ।'प्रत्येक बारमा पोसाक र परिचयपत्रसहितको एक सुरक्षा गार्ड मात्र राख्न दिइने उनले बताए । ठमेल प्रहरीले दुई महिनामा मसाज र बारमा कार्यरत १ सय ६६ जनालाई कारबाही गरे पनि अहिलेसम्म घरबेटीले उन्मुक्ति पाउँदै आएका छन् । स्थानीय वडा कार्यालयहरूको सहयोगमा झण्डै १ सय ७० घरबेटीको सूची तयार गरिएको निरीक्षक सिंहले जानकारी दिए । ठेगाना र टेलिफोनसहितको सूची तयार गरिएको छ ।
दरबारमार्ग प्रहरी प्रभागले स्थानीयको दैनिकी र आवागमनमा अवरोध पुग्ने गरी बसोबास क्षेत्रमा हुने यौनजन्य गतिविधिलाई रोक्न सादा पोसाकमा कान्तिपथदेखि ज्याठासम्मको क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको छ । यसैका लागि साँझदेखि अबेर रातिसम्म सादा पोसाकमा दस जना सुरक्षाकर्मी परिचालन गरिएको प्रभाग प्रमुख निरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । दोस्रो चरणको कारबाहीमा प्रशासनसहित मिलेर आचारसंहिता बनाइने र ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भएको श्रेष्ठले बताए । यसअघि २०६५ सालमा बनाएकेा आचारसंहिता कार्यान्वयन हुन सकेको थिएन ।

No comments: