News

Apr 8, 2011

बेलायती कलेजमा नेपाली पढाउन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, चैत्र २५ - बेलायतमा नेपालीको आगमन बढिरहँदा यहाँका स्कुल कलेजले नेपाली विषयसमेत पढाउन सुरु गरेका छन् । ब्रेन्ट साइड हाइ स्कुल, ग्रीनफोर्ड लन्डनमा यसै शैक्षिक सत्रदेखि जीसीएसई तह (एसएलसी सरह) मा नेपाली विषयको परीक्षा दिन पाइने भएको छ । नेपाली विद्यार्थी बढेपछि स्कुलको 'डिपार्टमेन्ट अफ इथ्निक माइनोरिटी एचिभमेन्ट' (ईएमए) ले परीक्षा दिन पाउने प्रबन्ध गरेको प्रशासकीय अधिकृत मुकुन्द सुनुवारले जनाए । उक्त स्कुलमा हाल ४२ नेपाली विद्यार्थी अध्ययनरत छन् भने कुल विद्यार्थी संख्या १३ सय २० छ । आगामी जुनमा हुने जीसीएसई परीक्षामा विद्यार्थीले नेपाली (ऐच्छिक) विषयमा ३ घन्टा जाँच दिन सक्नेछन् । उता नेपालीको घना बस्ती भएको फार्नबोरोस्थित ओकफार्म कम्युनिटी स्कुलमा समेत यसपटक १४ विद्यार्थीले नेपाली विषयमा 'आईजीसीएसई' परीक्षा दिँदै छन् । त्यहाँ अध्यापनरत शिक्षक डा. अच्युत गौतमका अनुसार युनिभर्सिटी अफ क्यामबि्रज एक्जामिनेसन सिन्डिकेटले परीक्षालाई मान्यता दिएको छ । हाल कोभ स्कुलमा अध्ययनरत १४ विद्यार्थी साँझ साताको पाँच दिन ओकफार्म कम्युनिटी स्कुल आएर नेपाली विषयको तयारी गरिरहेका छन् ।

No comments: