News

Apr 12, 2011

लिम्बुवानको राजनीतिक-ऐतिहासिक पृष्ठभूमि र संघीयता विषयक अन्तरक्रिया

डीबी आङबुङ
२५ चैत्र २०६७,लिम्बुवानको राजनीतिक-ऐतिहासिक पृष्ठभूमि र संघीयता विषयक एक अन्तरक्रियात्मक कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद उपत्यका सर्म्पर्क समिति, काठमाडौंको आयोजनामा २०६७ चैत्र २५ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभाग काठमाडौंका सहप्राध्याक मानवशास्त्री डम्बर चेम्जोङको कार्यपत्र प्रस्तुती र त्रि. वि. समाजशस्त्र तथा मानवशास्त्र केन्द्रीय विभागकै डा. कृष्ण भट्टचन; पत्रकार भवानी बराल र राजनीतिशास्त्री डा. महेन्द्र लावतीले टिप्पणी गर्नुभएको सो कार्यक्रमका प्रमुख अतिथि संघीय मञ्च तथा मञ्च सम्बद्ध लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन रहनुभएको थियो ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका सर्म्पर्क समिति काठमाडौंका अध्यक्ष शिवकुमार पाङ्गेनहाङको अध्यक्षतामा सम्पन्न्न उक्त लिम्बुवानी अन्तरक्रिया कार्यत्रममा समितिका उपाध्यक्ष विष्णु यक्सोले स्वागत मन्तव्य र सचिव पदम तुम्बाहाङफेले उद्घोषण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तोता डम्बर चेम्जोङले प्रस्तुत गर्नुभएको ''लिम्बुवानको राजनीतिक ऐतिहासिक पृष्ठभूमि र संघीयता'' विषयक कार्यपत्रमा 'लडाइँको इतिहास नै समाजको पहिचान र इतिहास हो', लिम्बुवानको राजनीतिक पृष्ठभूमि, आदिवासी राजनीति र कथित् मूलधारे राजनीतिबीच फरक'; सिरिजङ्गा, इमानसिंह चेम्जोङ र फाल्गुनन्दः लिम्बू राष्ट्रियता र राजनीतिका खम्बाहरू'; सफलताका लागि गठबन्धन र मोर्चाको अपरिहार्यतालगायतका उप-शीषकहरू रहेका छन् ।
कार्यपत्रप्रति टिप्पणी गर्नेक्रममा टिप्पणीकार पत्रकार भवानी बरालले कार्यपत्र टिप्पणी नै गर्नुपर्नै खास कुरा नभएको भन्दै त्यसमा थप गर्नुपर्ने विषयहरू सुझावहरू दिनुभएको थियो । तसैगरी टिप्पणीकार डा. भट्टचनले कार्यपत्रका शीर्षक , र उपशीर्षक तथा विषयवस्तुहरूमा थप प्रष्ट पार्न व्याख्या-विश्लेषण गरी सुझावहरू प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि आफ्नो धारणा राख्ने क्रममा डा. महेन्द्र लावतीले लिम्बुवानका विषयमा राजनीतिक सुझावहरू दिनुभएको थियो ।
कार्यक्रमका सहभागीहरूबाट देवीबहादुर कन्दङवा, अनन्तहाङ यक्सो, भिम तावा, तेज यक्सो, नन्दकुमार प्रसाइँ, येहाङ लाओती, कृष्ण हेम्ब्या र कुमार फुदोङले आफ्नो जिज्ञासा र धारण राखेका थिए ।
कार्यक्रमको अन्तमा बोल्दै प्रमुख अतिथि कुमार लिङ्देन 'मिराक'ले सो अन्तक्रिर्यात्मक कार्यक्रममा प्रस्तुत कार्यपत्र र त्यसमाथि भएको टिप्पणी, बहस र छलफलले लिम्बुवान र संघीयताको आन्दोलनलाई थप उर्जा र प्रेरणा मिलेको बताउँदै बौद्धिक वर्गहरूलाई यसरी नै बौद्धिक खुराकहरू दिएर सहयोग गरिरहन आग्रह गर्नुभयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बूले लिम्बुवान र संघीयताको आन्दोलनमा थप टेवा पुर्‍याउन लिम्बुवान उपत्यका समितिले यस्ता कार्यक्रमहरू गर्दै आएको र आउँदा दिनमा पनि यस्तो कार्यक्रम गरिरहने बताउँदै सबै सहभागी तथा कार्यपत्र प्रस्तोता, टिप्पणीकार र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो ।

No comments: