News

Apr 9, 2011

स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धन लिम्बुवानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी लिम्बू
दमक, लिम्बुवान २०६७ चैत्र २३,जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले पहिलो चरणको कार्यक्रमअर्न्तर्गत संविधान सभामा प्रस्तावित मस्यौदा प्रतिवेदनहरूबारे आफ्नो धारणा बनाई मुलुकैभरि छलफल गर्ने क्रममा २०६७ चैत्र २३ गते लिम्बुवानको दमक झापामा गठनबन्धन सदस्य दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' को अध्यक्षतामा र सबै गठबन्दनका नेतृत्वहरूको आतिथ्यमा व्यापक सहभागिताका साथ एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
गठबन्धनका दुई दलहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनमुक्ति पार्टी, नेपालको आतिथ्य तथा संयोजनमा सम्पन्न उक्त कार्यक्रमका अतिथिहरूमा आदिवासी जातीय-क्षेत्रीय महासंघ महासंघ (एनेकपा, माओवादी) का उपाध्यक्ष कमानसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङ, उपाध्यक्ष अम्बर लामा; जनमुक्ति पार्टी, नेपालका अध्यक्ष अटलमान र्राई, अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का अध्यक्ष नगेन्द्र र्राई र आदिवासी जनजाति महासंघ (समाजवादी) का संयोजक रामसिंह लामा रहेका थिए ।
आतिथ्य दल संघीय लोकतान्त्रि राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदका महासचिव सूर्य माखिमको उद्घोषण र जनमुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य प्रकाश र्राई स्वागत मन्तव्यसहित ज्ञात-अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरेर गठबन्धनका सबै अतिथिहरूले सामूहिक रुपमा भिन्दाभिन्दै आठवटा वत्तीमा द्वीप प्रज्वलन गरी शुभाराम्भ गरिएको उक्त अन्तक्रिर्यात्मक कार्यक्रममा लिम्बुवानका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, पान्थर र तप्लिजोङका सयौं प्रतिनिधिहरू सहभागी रहेका थिए ।
लिम्बुवानको दमक नगरमा सम्पन्न उक्त अन्तक्रिर्यात्मक कार्यक्रममा संयुक्त गठबन्धनले सामूहिक रुपमा अवधारण बनाई संविधान सभामा समेत बुझाएको संविधान सभाका विभिन्न ११ वटा मस्यौदा प्रतिवेदनहरूबारे गठबन्धनको धारणा राख्ने क्रममा आदिवासी जातीय-क्षेत्रीय महासंघका (एनेकपा माओवादी) का उपाध्यक्ष कमानसिंह लामाले मौलिक हकको मस्यौदाबारे प्रष्ट्याउँदै यदि संविधान सभाले संविधान बनाउँदैन भने हामी आफैले आफ्नो संविधान बनाई घोषणा गर्नुपर्ने र सोही अनुसार लिम्बुवान, तामाङसालीङ, मगरात, तमुवान चल्नुपर्ने बताउनु भयो । वहाँले थप्नु भयो ''सो संविधान हामी आफै घोषणा गर्नेछौं र हामी आफै अनुमोदन गर्नेछौं ।'' साथै, लामाले अब संघीयता र स्वायत्तताका विरुद्धमा खुलेआम हुने गतिविधिहरूलाई मुकदर्शक बनेर हेरिबस्नु नहुने बताउनु भयो । वहाँले मौलिक हकको मस्यौदामा आदिवासी जनजाति शब्दसम्म पनि नरहेकोले अन्य कुरा त झनै हुँदै नभएकोमा सचेत गराउँदै यसको लागि आन्दोलित हुनुपर्ने बताउनु भयो ।
यसैगरी, अर्को गठबन्धन सदस्य दल ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङले संविधान सभामा रहेका कथित् प्रमुख दलहरूले आफ्नै मिलोमतोमा केवल सङ्क्षिप्त संविधान मात्र तयार गर्ने सम्भावना रहेको र त्यसमा आदिवासी जनजातिका हक-अधिकारका कुराहरू नपर्ने भएकोले त्यसको विरुद्धमा आन्दोलन गर्नु आवश्यक हुनेभएकोले त्यसबारे जानकारी र तयारीका लागि सो अन्तरक्रिया कार्यक्रमहरू मुलुकैभरि गरिएको बताउनु भयो । वहाँले संविधान सभाले धेरै समिति बनाउँदा बनाउँदै पनि आदिवासी जनजातिको समिति नबनाएको, आदिवासी जनजातिहरूको अधिकार बारे कतै केही उल्लेख नगरिएको बताउनु भयो । साथै, वहाँले संघीयतामा सबै जातिको समान अधिकार हुने र लिम्बुवानमा लिम्बू जातिले स्वशासन नपाइकन यहाँका धिमाल, लाप्चा, आठपहरिया आदिले स्वशासन पाउन नसक्ने बताउनु भयो । वहाँले लिम्बुवान, ताम्सालिङ भएपछि राज्यहरू बहुजातीय हुने र जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वसमेत हुने बताउनु भयो ।
त्यसैगरी, अर्का अतिथि जनमुक्ति पार्टी, नेपालका अध्यक्ष अटलमान र्राईले व्यवस्थापिकाको ढाचाको मस्यौदाबारे प्रष्ट्याउँदै हामीले अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिनुभयो । साथै, वहाँले सो पहिलो चरणको अन्तक्रिर्या कार्यक्रमपछि आन्दोलनको घोषणा गरिनेसमेत बताउनु भयो ।
अर्का अतिथि अखिल नेपाल आदिवासी जनजाति महासंघ (एकीकृत) का अध्यक्ष नगेन्द्र र्राईले प्राकृतिक स्रोत तथा आर्थिक मस्यौदा बारे गठनबन्धनको धारणा राख्दै सामन्तवादका सम्पूर्ण अवेशेषहरूलाई निर्मूल पार्न संघीयतामा जानुपरेको बताउनु भयो । वहाँले हामी आदिवासीहरू विश्वभर लडाइँ लड्यौं, धेरैलाई जित्यौं, धेरैलाई हरायौं र धेरै शासकहरूलाई सुरक्षा पनि दियौं तर हामीले आफ्नै पुर्खाहरूको अस्तित्व र पहिचानलाई बचाई राख्न र सुरक्षा गर्न सकेनौं भन्नु भयो । साथै, र्राईले अहिले संविधान सभामा भइरहेका मुख्य असहमतिका विषयवस्तुहरू संघीयता र जातीय स्वायत्तताका सवालहरू नै भएको बताउँदै यहाँका आदिवासी जनजातिहरूले जातीय शासन होइन जातीय स्वशानमात्र चाहेको बताउनु भयो । वहाँले यहाँका एकात्मकवादीहरूले विगत २५० वर्षेखिनै जातीय शासन गरिरहेको तर त्यस्तो शासन आफूहरूले नचाहेका बताउनु भयो । र्राईले अहिलेका एकात्मकवादीहरूले बोकेको मार्क्सवाद सही मार्क्सवाद नभएर मार्क्सवादको नाममा बोकेको बाहुनवादमात्र रहेको आरोपसमेत लगाए । वहाँले प्राकृतिक स्रोत तथा आर्थिक अधिकारको मस्यौदाबारे बताउँदै आदिवासी जनजातिहरूलाई प्राकृतिक स्रोत साधनमा कुनै अधिकारकारको व्यवस्था नगरिको बताउनु भयो ।
अर्का अतिथि आदिवासी जनजाति महासंघ(समाजवादी) का संयोजक रामसिंह लामाले सम्पूर्ण सहभागी तथा आतिथ्य दलहरूलाई धन्यवाद दिँदै एमाले, कांग्रेसका आदिवासी जनजातिहरूलाई पनि यस गठबन्धनमा आउन आह्वान गर्नुभयो । वहाँले अब एमाले कांग्रेसका आदिवासीहरूले ती बाहुनवादीहरूलाई प्रधानमन्त्री बनाउनबाहेक अरु केही पनि गर्ननसक्ने आरोप लगाउनु भयो ।
कार्यक्रमको अन्तमा गठबन्धनका सदस्य दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमारले लिङ्देन 'मिराक'ले संविधान सभामा प्रस्तावित शासकीय स्वरुपको मस्यौदा र अन्यबारे बोल्दै सो गठबन्धनको कार्यक्रमले ती एकात्मकवादीहरूको षडयन्त्र र चलखेलविरुद्ध संघीयवादीहरू हातमा दही जमाएर बसिरहेका छैनन् रहेछ भन्ने सन्देश दिएको बताए । लिङ्देनले संघीय मञ्च र लिम्बुवानको आन्दोलन सदैव संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र स्वशासनसहितको स्वायत्तताको पक्षमा रहने प्रतिवद्धतासमेत जनाउनु भयो । वहाँले राज्यको शासकीयस्वरुपबारे बताउँदै सो गठबन्धले लिएको राष्ट्राध्यक्ष मण्डलको व्यवस्था र सहमतीय प्रणालीले मात्र तमाम् नेपाली जनताका भावना र चाहनालाई प्रतिनिधित्व गर्नसक्ने बताउनुभयो ।
संघीय लिम्बुवान कलाकार परिषदका सदस्य इन्दिरा दर्नालको सुमधुर साङ्गीतिक प्रस्तुतीसमेत रहेको सो कार्यक्रमका सहभागीहरूले सुरुदेखि अन्त्यसम्म धैर्यतापूर्वक अन्तरक्रिया कार्यक्रममा सहभागीता जनाएका थिए ।
चैत्र २० गते ताम्सालीको बनेपाबाट शुरुभएको सो अन्तरक्रिया कार्यक्रम चैत्र २२ गते बर्दिवास, महोत्तरी र चैत्र २३ गते दमक लिम्बुवानमा भएको हो । सो अन्तरक्रिया कार्यक्रमको बाँकी शिलशिलामा २०६८ वैशाख १० गते तमुवानको पोखरा, वैशाख १२ गते बुटुवल, चैत्र १४ गते धनगढी र चैत्र १६ गते नेवाः काठमाडौंमा हुने कार्यक्रम रहेको संयुक्त गठबन्धले जनाएको छ ।

No comments: