News

Apr 6, 2011

गोर्खालीको सम्मानमा टुँडिखेलमा स्तम्भ निर्माण गर्न पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, चैत्र २३ - युद्धमा वीरगति पाएका गोर्खालीहरुको सम्मानमा काठमाण्डौस्थित टुँडिखेलमा गोर्खा स्तम्भ निर्माण गर्न पहल भइरहेको यहाँ आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ । स्तम्भ निर्माणका क्रममा विश्वभरका गोर्खा समाधिस्थलका माटो एकैठाउँमा जम्मा पारिने गोर्खा सिमेट्रीज ट्रष्टका अध्यक्ष एकराज राईले बताएका छन् । विश्वका १ सय ४१ मुलुकहरुमा गोर्खा समाधि रहेको पक्ता लागेको समेत उनले जनाए । पुर्खा दिवसका अवसरमा मंगलबार क्यासिनो लाईनस्थित गोर्खा सिमेट्रीमा आयोजित समारोहमा उक्त कुरा बताइएको हो । ट्रष्टले सन् २००५ बाट हरेक वर्ष अपि्रल ५ का दिन विश्वयुद्धमा बहादुरी कमाएका र वीरगति पाएका गोर्खालीहरुको सम्झनामा 'पुर्खा दिवस' मनाउँदै आएको छ । स्तम्भ निर्माणका लागि 'राष्ट्रमण्डल समाधि आयोग' लगायत नेपाल र बेलायत सरकार सँग समेत कुराकानी अघि बढिरहेको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सदस्य नरहाङ राईले बताए । 'कतिपय मुलुकमा रहेका गोर्खा समाधि भत्काइदै छन,' अर्का केन्द्रीय सदस्य मणि किरात वान्तवाले यसतर्फ सरकारले चासो राख्नुपर्ने बताउदै भने, 'भत्कने कार्य रोक्न पहल नगरिए भविष्यमा गोर्खालीको पहिचान समेत मेटिने छ ।'
विश्वभर बहादुरीको गाथा गुनेको गोर्खा सिपाहीलाई स्वदेशले उचित सम्मान र कदर दिन नसकेको समेत समारोहमा पूर्व गोर्खा सैनिकहरुको आरोप थियो । 'गोर्खालीका नाउमा रोयल्टी खाने सरकारले विश्वयुद्धमा कहँा कति मारिए भन्ने सामान्य लेखाजोखा समेत नराखी गैरजिम्मेवार व्यवहार प्रर्दशित गरेको छ,' केन्द्रीय सदस्य वान्तवाले भने, 'लेखाजोखा नै नहुँदा मारिएका लाखौंले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।' तत्कालिन राणाशासक र ब्रिटिस सरकारबीचको स्वार्थका कारण अनाहकमा हजारौं नेपाली युवाहरु मारिएको उनको आरोप थियो ।' करिब २ लाख नेपाली योद्धाहरु मारिएको विश्वयुद्धमा घाइतेहरुलाई उपचार र क्षतिपूर्ति समेत नदिइ स्वदेश फर्काइका थिए ।
विश्व इतिहासमा गोर्खालीका विशिष्ट योगदान र पहिचान रहेकाले उक्त कुरा पाठ्यक्रममै समावेश गरी नयाँ पिढीलाई समेत जानकारी गराइनु पर्ने समेत पूर्व गार्खाहरुको भनाइ थियो । 'गोर्खालीको इतिहास सँग नेपालीको पहिचान पनि समेटिएको छ,' सदस्य वान्तवाले भने, 'गोर्खाली सिपाहीका विशिष्ट मुल्य, मान्यता र संस्कार नयाँ पिढीमा समेत स्थापित गरिनु आवश्यक छ ।' करिब दुई घण्टा चलेको समारोहमा पूर्व गोर्खा सैनिक, विद्यार्थी, शिक्षक तथा विभिन्न पेशाकर्मीहरुको सहभागिता थियो । पूर्व सैनिकहरुले वीरगति पाएका गोर्खालीका सम्मानमा सलामी अर्पण गरेका थिए । विद्यार्थीहरुद्वारा कविता पाठ गरिनुका साथै सहभागीद्वारा समाधिस्थलमा पूजाअर्चना गरिएको थियो । समारोहमा प्रथम तथा दोस्रो विश्वयुद्धमा वीरगति पाएका नेपालीहरुको नाम संकलित पुस्तक 'समाधिस्त पुर्खा' समेत सार्वजनिक गरिए । हङकङबाट मनाउन थालिएको पुर्खा दिवस हाल नेपाल, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, मलेसिया लगायतका देशमा समेत मनाईन्छन् । हङकङमा झण्डै ब्राह सय गोर्खालीका चिहान रहेको ट्रष्टका अध्यक्ष राईले बताए । क्यासिनो लाईनस्थित गोर्खा सिमेट्रीमा मात्र गोर्खालीका ५ सय ५६ समाधि छन् ।

No comments: