News

Apr 17, 2011

पेट्रोल पम्पले तेल लुकाएको निगमको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ४ - नेपाल आयल निगमले बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव कृतिम प्रकृतिको भएको भन्दै निगमले अहिले माग अनुसारकै आपूर्ति गरिरहेको दाबी गरेको छ । 'काठमाडौंमा माग अनुसारकै पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ,' आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा निगमका कार्यकारी अध्यक्ष दिगम्बर झाले भने, 'भारतबाट आपूर्तिमा कटौति गरेको समाचारले पेट्रोल पम्पहरुले लुकाएको र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी सञ्चय गरेकोले बजारमा अभाव भएको हुनुपर्छ ।'निगमले राजधानीमा प्रतिदिन २ सय ४० किलो लिटर डिजल र पेट्रोल आवश्यक भएकोमा चैत २८ गते ४ सय ३६ किलो लिटर, चैत ३० गते ३ सय ४३ र बैशाख २ गते ३ सय ३७ किलो लिटर उपलब्ध गराएको उनले दाबी गरे । झाले परल मुल्य (वितरण हुने स्थानसम्म ल्याई पुर्‍याउँदा पर्ने मुल्य) अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूर्ति गर्न नसक्ने चेतावनी दिए । परल मुल्यभन्दा कम मुल्यमा विक्री गर्नु पर्दा दिन प्रतिदिन घाटा चुलिँदै गएको कारण माग अनुसारको आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।
अहिलेको मुल्यमा निगमलाई मासिक २ अर्ब रुपैयाँ घाटा हुने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा निगमले लामो समयसम्म पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज पार्न नसक्ने स्पष्ट पारे । परल मुल्य अनुसारको विक्री मुल्य कायम गर्नुको विकल्प नभएको र अहिलेको अवस्थामा निगम चल्नै नसक्ने ठोकुवा गरे ।
निगमलाई अहिले पेट्रोलमा ६ रुपैयाँ ३० पैसा, डिजेलमा २३ रुपैयाँ २६ पैसा, मट्टितेलमा ११ रुपैयाँ २५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ८८ रुपैयाँ घाटा रहेको निगम अध्यक्ष झाको दाबी छ । हवाई ईन्धनमा भने निगमलाई अहिले प्रतिलिटर १० रुपैयाँ मुनाफा छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिशत भन्दा बढी बढेको अवस्थामा निगमले एलपी ग्यासमा ६, पेट्रोलमा १४ र मट्टतिेलमा साढे चार प्रतिसतले मात्र मुल्य बृद्धि गरेकोले पनि अन्तर्राष्ट्रिय मुल्य अनुसार समायोजन हुन नसक्दा निगम दिनप्रतिदिन टाट पल्टिने अवस्थामा पुग्न थालेको झाले दाबी गरे ।

No comments: