लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ मंसिर
सहमतीय सरकारको नेतृत्व गर्ने होडबाजीमा कांग्रेस सभापति सुशील कोइरालादेखि राजावादी किशोरी महतोसम्मले आफ्नो दाबी गरेका छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतोले त बिहीबार आफूलाई ३६ वटा पार्टीको
समर्थन रहेको भन्दै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दरखास्त नै हालेका छन् ।
कांग्रेस सभापति कोइराला सहमतीय सरकारको नेतृत्व गर्न आन्तरिक तथा बाह्य छलफलमा छन् । यसबाहेक मधेसी दलका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, पञ्चायती पृष्ठभूमिका सूर्यबहादुर थापा पनि दौडधुपमै छन् । यसबाहेक नेकपा-माओवादीबाट रामबहादुर थापा बादल प्रस्तावित छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष तथा राजावादी महतोले त बिहीबार राष्ट्रपतिको कार्यालयमा निवेदन नै दर्ता गराए ।
राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतो लोककल्याणकारी जनता पार्टीका अध्यक्ष हुन् । आफूसँग निर्वाचन आयोगमा दर्ता भएका ३६ वटा पार्टीको समर्थन रहेको दाबीसहित उनले आफू नै प्रधानमन्त्रीको साझा उम्मेदवार भएको दाबी गरेका छन् । राष्ट्रपति कार्यालयमा हालेको उनको दरखास्त दर्ता नम्बर ८३६ छ ।
आफ्ना समर्थकसहित राष्ट्रपतिको कार्यालय पुगेका महतोले उम्मेदवारीको निवेदन दर्ता गरेका हुन् । उनको निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयका कर्मचारीबीच केहीबेर छलफलसमेत भएको थियो । उम्मेदवारीको निवेदन लिने निर्णय भएपछि कर्मचारीले दर्ता गरेका थिए । तर, राष्ट्रपतिसँग भेट्न भने समय मागे पनि उनले पाएनन् ।
निवेदन दर्ता गराएपछि महतोले भने, 'अब म प्रधानमन्त्री बन्ने पक्का भयो । मलाई निर्वाचन आयोगमा दर्ता भएका ३६ दलको समर्थन छ ।' उनले आफू प्रधानमन्त्री भएपछि हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने घोषणासमेत गरे । जनसंघ पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, राष्ट्रवादी पार्टी नेपाललगायतका पार्टीहरूले आफूलाई समर्थन गरेको उनको भनाइ छ ।
सूर्यबहादुर थापा लबिङमा
प्रमुख दलहरूबीच सहमति नभएकै वेला पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापाले पनि प्रधानमन्त्री बन्ने चाहना राखेर लबिङ सुरु गरेका छन् । केही समययता भारतीय दूतावासमा उनको भेटघाट तीव्र भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूसँग पनि उनले सम्पर्क गर्दै आएका छन् ।
स्रोतका अनुसार आफ्ना केही निकट मान्छेहरूसँग थापाले प्रधानमन्त्री बन्ने चाहना प्रकट गर्ने गरेका छन् । विगतमा पटक-पटक प्रधानमन्त्री भइसकेका उनलाई राप्रपा र राजपाका नेताहरूले उम्मेदवारी घोषणा गर्न उचालेका छन् । प्रधानमन्त्रीको साझा उम्मेदवारीका लागि प्रमुख तीन दलमा सहमति हुन नसके तथा उमेर र राजनीतिक वरिष्ठताका कारण थापाले प्रधानमन्त्रीको अवसर पाउनुपर्ने राजपा नेताहरूको दाबी छ ।