News

Nov 22, 2012

मुम्बई हमलाका दोषी पाकिस्तानी कसाबलाई फाँसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एजेन्सी, मुम्बई, ६ मंसिर : भारतको आर्थिक नगरी मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको आतंककारी हमलाका एक मात्र जीवित दोषी मोहम्मद अजमल कसाबलाई बुधबार फाँसी दिइएको छ । कसाबलाई महाराष्ट्रको पुणेस्थित येरवडा जेलमा स्थानीय समयअनुसार बुधबार बिहान ७:३० बजे फाँसी दिइएको केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्धेले पुष्टि गरेका छन् । कसाबलाई येरवडा जेलमा दुई दिनअघि सारिएको थियो । कसाबलाई दिइने फाँसीसम्बन्धी योजना अत्यन्त गोप्य राखिएको थियो भने फाँसीको कारबाहीलाई सरकारले 'अपरेसन -एक्स' नाम दिएको छ । त्यस्तै, भारतको महाराष्ट्रका गृहमन्त्री आरआर पाटिलले बुधबार संवाददातालाई कसाबलाई मृत्युदण्ड दिइएको जानकारी दिएका थिए । मुम्बई हमलामा मारिएका नागरिकप्रतिको श्रद्धाञ्जलीका लागि कसाबलाई मृत्युदण्ड दिइएको गृहमन्त्री पाटिलले बताए । मुम्बईमा २००८ मा भएको आतंकवादी आक्रमणका उनी प्रमुख योजनाकार थिए । मुम्बईमा भएको सो आतंककारी हमलाको करिब चार वर्षपछि उनलाई बुधबार मृत्युदण्ड दिइएको हो । यसअघि उनले आफूलाई क्षमादान दिन गरेको अपिललाई भारतीय उच्च अदालतले अस्वीकार गरिदिएको थियो । अदालतको सो फैसलापछि पनि उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष मृत्युदण्ड खारेजीका लागि क्षमादान मागेर अपिल गरेका थिए । तर, मुम्बई घटनामा मारिएका परिवारका आफन्तले भने कसाबको योजनाबमोजिम नै मुम्बईमा हमला भएकाले उनलाई क्षमादान नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । समुद्रको बाटो हँुदै पाकिस्तानबाट मुम्बई आइपुगेका पाकिस्तानी आतंकवादी संगठन लस्कर-ए-तोएबासम्बद्ध १० जना हमलाकारीले मुम्बईका शिवाजी रेलवे स्टेसन, ताज होटललगायत विभिन्न स्थानमा गरेको शृंखलाबद्ध हमलामा एक सय ६६ नागरिकको ज्यान गएको थियो भने सयौँ मानिस घाइते भएका थिए । त्यसको प्रत्युत्तरमा सुरक्षाकर्मीले चलाएको करिब ६० घन्टे कारबाहीमा नौ हमलाकारी मारिएका थिए । तर, कसाब भने जिउँदै पक्राउ परेका थिए । पक्राउपछि उनलाई भारतको एक अदालतले २०१० मेमा दोषी ठहर गरेको थियो । तर, पछि उनले उच्च अदालतसमक्ष अपिल गरेका थिए । सिन्धेका अनुसार गृह मन्त्रालयले कसाबले मागेको क्षमादानको अपिल १६ अक्टोबरमा खारेज गरी राष्ट्रपति मुखर्जीसमक्ष पठाएको थियो । राष्ट्रपतिले पनि ५ नोभेम्बरमा कसाबले मागेको क्षमादान खारेज गरी सो फाइल पुनः गृह मन्त्रालय पठाएका थिए । सरकारले भने कसाबलाई २१ नोभेम्बरमा येरवडा जेलमा फाँसी दिने निर्णय गरिसकेको थियो । त्यस्तै, १९ नोभेम्बरमा कसाबलाई मुम्बईको आर्थर रोड जेलबाट पुणेको येरवडा जेलमा सारिएको थियो ।

No comments: