News

Nov 18, 2012

प्रधानमन्त्रीसँग शरणार्थी बारे अमेरिकी मन्त्रीको छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मङ्सिर ३- प्रधानमन्त्री बाबुराम भट्टराईसँग प्रजातन्त्र तथा विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोले आज उनको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री समक्ष उनले भुटानी र तिब्बती शरणार्थी मुद्दा उठाएकी थिइन्। नेपालको तीनदिने भ्रमणका क्रममा शनिबार राति यहाँ आउनुभएकी उपविदेशमन्त्री ओटेरोले भेटमा नेपालको वर्तमान राजनीतिक स्थिति, संविधानसभाको निर्वाचन, राजनीतिक दलहरूसँगको सहमतिको प्रयासबारे जिज्ञासा राखेकी थिइन्। प्रधानमन्त्रीले विपक्षी दलहरूसँग शीघ्र सहमति कायम गरी नयाँ निर्वाचनको घोषणा गर्न तथा शान्तिप्रक्रियालाई निचोडमा पुर्‍याउन सरकार लागिपरेको जानकारी दिएका उनका प्रमुख स्वकीय सचिव गङ्गानारायण श्रेष्ठले बताए। भुटानी तथा तिब्बती शरणार्थीबारे पनि उपविदेशमन्त्री ओटेरोले चासो व्यक्त गर्नुभएकोमा प्रधानमन्त्रीले शरणार्थीसम्बन्धी सबै समस्या समाधान गर्न आफ्नो सरकारको दृढता दोहोर्‍याउनुभएको श्रेष्ठले जानकारी दिए। तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकाले ६३ हजार भुटानी शरणार्थीलाई आफ्नो भूमिमा पुनःस्थापना गरिसकेको छ। भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीका साथै परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावासका वरिष्ठ अधिकारी सहभागी थिए।

No comments: