News

Nov 1, 2012

सरकारको नेतृत्व विवादले शीर्ष बैठक निष्कर्षबिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१६ कात्तिक,सहमतीय सरकारको नेतृत्वबारे एमाओवादी र कांग्रेस-एमालेले आ-आफ्नो अडान दोहोर्‍याएपछि गतिरोध अन्त्यको प्रयासमा बसेको शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । एमालेका पुराना नेता कृष्णलाल महर्जनको निवास बालकुमारीमा बसेको शीर्ष नेताहरुको बैठकमा संविधानसभा निर्वाचन, सहमतीय सरकार, बजेट लगायतका विषयमा छलफल भएको थियो । आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्न सबै दल सहमत भएपनि सहमतीय सरकारको नेतृत्वमा विवाद भएको एमाले नेता महर्जनले जानकारी दिनुभयो । ‘अधिकांश विषयमा सहमति भएपनि सरकारको नेतृत्वमा कुरा मिल्न सकेन’ महर्जनले अनलाइनखबरसँग भन्नुभयो । बैठकमा कांग्रेस-एमालेले संविधानसभा पुनःस्थापनामा छलफल नै नगर्ने बताएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा संविधानसभाको नयाँ निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको छ । ‘पुनःस्थापनाको कुरा कांग्रेस एमालेले अस्वीकार गरेपछि प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुभयो’ नेता महर्जनले भन्नुभयो-’चुनावमा जाँदा बाबुराम नेतृत्वको सरकारमा सहमति हुनु पर्ने उहाँको अडान थियो ।’ प्रचण्डले बाबुराम सरकारलाई राष्ट्रिय स्वरुप दिएर चुनावमा जाने प्रस्ताव गर्नु भएको हो । जवाफमा कांग्रेस-एमालेले भने वर्तमान सरकारलाई कुनै हालतमा स्वीकार नगर्ने अडान लिएका छन् । एमाले नेता माधवकुमार नेपालले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै भन्नुभयो-’बाबुराम भट्टराई नेतृत्वमा नै सहमति खोज्ने हो भने सहमति नै हुन्न ।’ एमाओवादीले सहमति नचाहेको भन्दै उहाँले आ-आफ्नो अडान दोहोर्‍याउने हो भने अबको छलफलमा नआउने समेत बताउनु भयो । प्रचण्ड र नेपालले आ-आफ्नो अडान दोहोर्‍याउँदै छलफल नै नगर्ने बताएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अडान छाडेर सहमतिमा आउनु पर्ने भन्दै भोलि पनि छलफल गर्ने प्रस्ताव गर्नु भएको थियो ।

No comments: