News

Nov 22, 2012

चार महिनामा एक सय ६८ प्रहरी कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ मंसिर : पछिल्लो चार महिनामा महानगरीय प्रहरी आयुक्त कार्यालयअन्तर्गत कार्यरत दुई एसएसपीसहित एक सय ६८ प्रहरी कारबाहीमा परेका छन् । त्यसैगरी उत्कृष्ट काम गरेबापत् तीन सय २३ प्रहरी पुरस्कृत भएका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार साउनयता एक एसएसपीलाई निलम्बन गरिएको छ भने अर्का एसएसपीलाई ध्यानाकर्षण गराइएको छ । सुन र विदेशी मुद्रा तस्करीमा संलग्न भएको आशंकामा एसएसपी रविराज श्रेष्ठलाई निलम्बन गरिएको हो भने ध्यानाकर्षण गराइएका एसएसपीको नाम खुलाइएको छैन । त्यसैगरी दुई डिएसपी र तीन इन्सपेक्टर पनि यसअवधिमा कारबाहीमा परेका छन् । दुई डिएसपीलाई विभागीय कारबाही स्वरूप सचेत गराइएको छ । त्यस्तै एक इन्सपेक्टरलाई नसिहत दिइएको छ भने अन्य दुईलाई सचेत गराइएको छ । त्यस्तै आठ सई, १२ असई, ३४ हवल्दार, एक सय चार प्रहरी जवान र प्रहरी परिचर कारबाहीमा परेका छन् । आयुक्त कार्यालयका अनुसार चार महिनाको अवधिमा ८९ जनालाई रेकर्डमा जनिने गरी नसिहत दिइएको छ । १६ जना निलम्बनमा परेका छन् भने ११ जनाको पदोन्नती रोक्का गरिएको छ । त्यस्तै तीनजनाको ग्रेड रोक्का, ६ जनालाई तल्लो टाइम स्केलमा घटुवा, एकजनालाई तल्लो पदमा घटुवा गरिएको छ । दुईजनालाई बर्खास्त गरिएको र १५ जनालाई नोकरीबाट हटाइएको छ । त्यस्तै उत्कृष्ट कार्य गरेबापत् डिआइजीसहितका प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा डिआइजीका साथै १५ डिएसपी, ३० इन्सपेक्टर, ५८ सई, ५२ असई, ६० प्रहरी हवल्दार, एक सय ६ जना जवान र एक परिचर छन् । आयुक्त कार्यालयले पत्रकार सम्मेलन गरी बुधबार यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । आयुक्त कार्यालयले शून्यसहनशीलतालाई अपनाउँदै अनुगमन र सुपरीवेक्षणलाई थप बलियो बनाउने जनाएको छ । आन्तरिक शुद्धीकरणका लागि सुपरीवेक्षणलाई आफूले प्राथमिकतामा राखेको आयुक्त एआइजी नवराज ढकालले बताए । बुधबारको पत्रकार सम्मेलनमा दसैँ, तिहार तथा छठका अवसरमा लागू गरिएको सुरक्षा योजना र त्यसको नतिजाका बारेमा जानकारी दिइएको थियो । प्रहरीको सक्रियताका कारण उपत्यकाका तीनै जिल्लामा अघिल्लो वर्षको तुलनामा डाँका, चोरीलगायतका घटनामा कमी आएको प्रहरीको दाबी छ । ३० असोजदेखि ३० कात्तिकसम्म उपत्यकामा चार हजार एक सय ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No comments: