News

Nov 11, 2012

एक महिलाले आफ्नो १८ महिनाको छोरा बेचेर मोबाइल किनेको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भुवनेश्वर - भारतको ओरिसा राज्यको जाजपुर जिल्लामा एक महिलाले आफ्नो १८ महिनाको छोरा बेचेर मोबाइल किनेको खुलासा भएको छ । गरिब परिवारकी राक्षी पात्रले पाँच हजार रुपैयाँमा छोरा बिक्री गरी आएको रकममध्ये १४ सयको एक मोबाइल, ११ सयमा दुई जिन्ससहितका कपडा र ५ सय रुपैयाँ वकिललाई दिएको र बाँकी रमक आफैँसँग राखेको बयान प्रहरीलाई दिएको जाजपुरका एसपी दीपक कुमारले बताएका छन् । जेलमा रहेका श्रीमान्लाई छुटाउन उनले वकिललाई पैसा दिएकी हुन् । यसअघि स्थानीय सञ्चारमाध्यमले राक्षीले कारागारमा रहेका आफ्ना पतिलाई छुटाउन छोरो बेचेको समाचार सम्प्रेषण गरेका थिए । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबार ओरिसा हाइकोर्टले आफ्नोतर्फबाट एक पिआइइएल दर्ता गरी बच्चा खोजी आमालाई बुझाउन जाजपुर अदालतलाई आदेश दिएको थियो । अदालतको आदेशअनुसार प्रहरीले बच्चालाई कटक जिल्लाको नुआवटना गाउँका बाबुला बेहेराको घरमा मंगलबार राति फेला पारेको थियो । बेचिएको बच्चालाई लिएर जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपककुमारले बिबिसीको हिन्दी संस्करणलाई बताएका छन् । बच्चा लिन उनले अस्वीकार गरेपछि बाल कल्याण समितिमा बुझाइएको थियो । समितिले त्यसपछि बच्चा हजुरबुबा-हजुरआमालाई सुम्पेको छ । घटनापछि राक्षीका बुबा-आमा तथा सासु-ससुराले उनलाई घरमा राख्न इन्कार गरेका छन् । १७ वर्षे राक्षीले सन् २०१० मा मुंडमाल निवासी मनोज पात्रसँग प्रेमविवाह गरेकी थिइन् । मनोज सानोतिनो चोरी घटनामा जेल परिरहने कारणले राक्षी घर छाडेर माइतीमा बस्दै आएको स्थानीयको भनाइ छ । माइतीमा समेत बुबा-आमासँग झगडा भएपछि गत १५ सेप्टेम्बरमा उनले एक रिक्साचालकको मद्दतले बाबुल बेहेरालाई पाँच हजारमा छोरो बेचेको प्रहरीसमक्ष बयान दिएकी छिन् । आफ्नै सन्तान बेच्ने राक्षीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । तर, अहिलेसम्म उनीमाथि कुनै कारबाही भएको छैन ।

No comments: