News

Nov 30, 2012

प्रधानमन्त्रीका लागि दरखास्त राष्ट्रपति कार्यालयमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 १४ मंसिर सहमतीय सरकारको नेतृत्व गर्ने होडबाजीमा कांग्रेस सभापति सुशील कोइरालादेखि राजावादी किशोरी महतोसम्मले आफ्नो दाबी गरेका छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतोले त बिहीबार आफूलाई ३६ वटा पार्टीको समर्थन रहेको भन्दै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दरखास्त नै हालेका छन् । कांग्रेस सभापति कोइराला सहमतीय सरकारको नेतृत्व गर्न आन्तरिक तथा बाह्य छलफलमा छन् । यसबाहेक मधेसी दलका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, पञ्चायती पृष्ठभूमिका सूर्यबहादुर थापा पनि दौडधुपमै छन् । यसबाहेक नेकपा-माओवादीबाट रामबहादुर थापा बादल प्रस्तावित छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष तथा राजावादी महतोले त बिहीबार राष्ट्रपतिको कार्यालयमा निवेदन नै दर्ता गराए । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतो लोककल्याणकारी जनता पार्टीका अध्यक्ष हुन् । आफूसँग निर्वाचन आयोगमा दर्ता भएका ३६ वटा पार्टीको समर्थन रहेको दाबीसहित उनले आफू नै प्रधानमन्त्रीको साझा उम्मेदवार भएको दाबी गरेका छन् । राष्ट्रपति कार्यालयमा हालेको उनको दरखास्त दर्ता नम्बर ८३६ छ । आफ्ना समर्थकसहित राष्ट्रपतिको कार्यालय पुगेका महतोले उम्मेदवारीको निवेदन दर्ता गरेका हुन् । उनको निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयका कर्मचारीबीच केहीबेर छलफलसमेत भएको थियो । उम्मेदवारीको निवेदन लिने निर्णय भएपछि कर्मचारीले दर्ता गरेका थिए । तर, राष्ट्रपतिसँग भेट्न भने समय मागे पनि उनले पाएनन् । निवेदन दर्ता गराएपछि महतोले भने, 'अब म प्रधानमन्त्री बन्ने पक्का भयो । मलाई निर्वाचन आयोगमा दर्ता भएका ३६ दलको समर्थन छ ।' उनले आफू प्रधानमन्त्री भएपछि हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने घोषणासमेत गरे । जनसंघ पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, राष्ट्रवादी पार्टी नेपाललगायतका पार्टीहरूले आफूलाई समर्थन गरेको उनको भनाइ छ । 

सूर्यबहादुर थापा लबिङमा 
प्रमुख दलहरूबीच सहमति नभएकै वेला पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापाले पनि प्रधानमन्त्री बन्ने चाहना राखेर लबिङ सुरु गरेका छन् । केही समययता भारतीय दूतावासमा उनको भेटघाट तीव्र भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूसँग पनि उनले सम्पर्क गर्दै आएका छन् । स्रोतका अनुसार आफ्ना केही निकट मान्छेहरूसँग थापाले प्रधानमन्त्री बन्ने चाहना प्रकट गर्ने गरेका छन् । विगतमा पटक-पटक प्रधानमन्त्री भइसकेका उनलाई राप्रपा र राजपाका नेताहरूले उम्मेदवारी घोषणा गर्न उचालेका छन् । प्रधानमन्त्रीको साझा उम्मेदवारीका लागि प्रमुख तीन दलमा सहमति हुन नसके तथा उमेर र राजनीतिक वरिष्ठताका कारण थापाले प्रधानमन्त्रीको अवसर पाउनुपर्ने राजपा नेताहरूको दाबी छ ।

No comments: