News

Jan 10, 2009

डा. रिचार्डले श्रीमतीलाई दिएको किड्नी फिर्ता मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ एक अमेरिकी पुरुषले आफ्नी श्रीमतीलाई दिएको किड्नी फिर्ता मागेका छन् । श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनले आफूले श्रीमती बचाउन दिएको किड्नी फिर्ता मागेका हुन् । किड्नी फिर्ता नदिए क्षतिपूर्तिस्वरूप दस लाख डलर तिर्नुपर्ने माग डा. रिचार्ड बाटिस्टाले गरेका छन् । श्रीमती डानवेललाई मन-मुटु मात्रै होइन, किड्नीसमेत दिएको डा. बाटिस्टाले बताए । सम्बन्धविच्छेदको प्रक्रिया एकदमै जटिल र ढिलो भएका कारण आफ्नो माग सार्वजनिक गरेको उनले बताए । सम्बन्धविच्छेदपछि प्रत्यारोपण गरिएको अंग बाँड्न मिल्ने सम्पत्ति नभएको वकिलले बताएका छन् । बाटिस्टा र डनवेलको बिहे १९९० मा भएको थियो । बाटिस्टाले श्रीमती डनवेलले २००१ मा किड्नी दिएका थिए । डनवेलले २००५ मा सम्बन्धविच्छेदका लागि दरखास्त दिएकी थिइन् । तर, अझै पनि सम्पत्तिको बाँडफाँड सम्बन्धमा सम्झौता हुन सकेको छैन । 'आफूले प्रेम गरेको र जीवन समर्पण गरेको मान्छेले धोका दिँदाकोजस्तो गहिरो दुःखको अनुभव तपाईं व्यक्त गर्न सक्नुहुन्न'- उनले भने । आफूलाई तीन सन्तानसँग लामो समयसम्म भेट्न नदिएको आरोप पनि उनले लगाए । 'मैले एक मान्छे, पिता र श्रीमान्को रूपमा लज्जा, धोका, अपमान र बेवास्ता गरिएको अनुभव गरेँ'- उनी भन्छन् । डा. बाटिस्टाका वकिलले डोमिनिक बारबरा भन्छन्- 'मेरा ग्राहकले आफूलाई श्रीमतीलाई दिएको किड्नीको मूल्य खोजेका छन् ।' किड्नीको विषयलाई न्यायाधीशसमक्ष केही दिनभित्र राख्ने बारबरा बताउँछन् ।

No comments: