News

Jan 10, 2009

वृत्तचित्र 'ग्रेटर नेपाल' को प्रदर्शनमा रोकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीको ठाडो हस्तक्षेपपछि भारतद्वारा मिचिएको सीमाका विषयमा केन्दि्रत वृत्तचित्र 'ग्रेटर नेपाल' को प्रदर्शनमा रोकिएको छ । शनिबार त्रिपरेश्वरस्थित वल्टट्रेड सेन्टरमा प्रदर्शनीको सबै तयारी गरिसकेपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएका प्रहरीले एकाएक आयोजकलाई वृत्तचित्र प्रदर्शन नगर्न निर्देशन दिएपछि आयोजक प्रदर्शन रोक्न बाध्य भए । वृत्तचित्रका निर्देशक मनोज पण्डितले दीर्घजीवी भोलेन्टियर्स नामक संस्थालाई वृत्तचित्र प्रदर्शनको जिम्मा दिएका थिए । सो संस्था क्यान्सरपीडित बालबालिकाको पक्षमा काम गर्दै आएको छ । आयोजक संस्थाकी आयुशा निरौलाले भनिन्, 'कालिमाटीका डिएसपीले शुक्रबार बेलुकै फोन गरेर ग्रेटर नेपालको प्रदर्शन रोक्न निर्देशन दिएपछि हामीले रोक्नुपर्‍यो ।' शनिबार बिहान प्रहरीसँग प्रदर्शन रोक्नुको कारणबारे प्रश्न गर्दा माथिबाट निर्देशन आएको जानकारी गराएको उनले बताइन् । कालिमाटी वृत्तका डिएसपी सुशीलसिंह राठौरले प्रदर्शन रोक्नुको स्पष्ट कारण खुलाएनन् । उनले भने, 'माथिबाटै आदेश आएपछि हामीले आयोजकलाई आग्रह गरेका हौँ ।' राठौरका अनुसार माथिबाट उनलाई केही समय प्रदर्शन नगर्न निर्देशन आएको थियो । माथि भनेको कहाँ हो त्यो भने उनले खुलाएनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवालले अनभिज्ञता प्रकट गरे । उनले भने, 'खोइ मलाई त जानकारी नै छैन ।' कालिमाटी वृत्त काठमाडौं परिसरको मातहतको हो । उनले प्रहरीले नरोकेको दाबी गर्दै हलवालालाई दोष दिए । उनले भने, 'खै मलाई रोक्नु भन्ने जानकारी छैन, मैले हलवालाले अर्को कार्यक्रम गर्ने भएकाले 'ग्रेटर नेपाल' प्रदर्शन नभएको सुनेको छु ।' महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठले सिमानाको विवादको विषयमा बनेको वृत्तचित्रका कारण रोकिएको हुन सक्ने अनुमान मात्र गरे । प्रहरीले प्रदर्शन रोकेको हो भन्ने जिज्ञासामा उनले भने, 'मलाई वृत्तचित्रको बारेमा के थाहा हुन्छ र मलाई त अपराधको बारेमा सोध्नूस न ?' वृत्तचित्रका निर्देशक मनोज पण्डित प्रहरीको बलमा सरकारले नागरिकको वाक स्वतन्त्रताविरोधी काम गरेको टिप्पणी गरे । उनले भारतको निर्देशनमा सरकारले प्रहरीको दुरुपयोग गरेर हस्तक्षेप गरेको दाबीसमेत गरे । उनले भने, 'यो सीधै भारतीय दूतावासको निर्देशनमा भएको हो ।'

No comments: