News

Jan 14, 2009

माघे सङ्क्रान्ति पर्व मुलुकभर मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघे सङ्क्रान्ति पर्व बुधबार मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घिउ-चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँदैछ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले बुधबारदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई 'मकर सङ्क्रान्ति' पनि भन्ने गरिन्छ । यसै दिनदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । लड्डु तथा घिउ-चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा 'घ्यो-चाकु सँल्हु' भनिन्छ । यस पर्वमा नेपालका देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गंगासागरलगायत नदी तथा त्रिवेणीमा स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेको ठूलो भिड लाग्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी भइने उल्लेख छ । आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउने तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भइ शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

No comments: