News

Jan 14, 2009

जयकृष्ण गोइत र ज्वाला सिंह समूहबीच एकीकरण

तराइमा सशस्त्र सङ्घर्षरत जयकृष्ण गोइत र ज्वाला सिंहले नेतृत्व गरिरहेका समूहबीच एकीकरण भई तराइ जनतान्त्रिक पार्टी गठन भएको छ । भारतको अज्ञातस्थलमा अखिल तर्राई मुक्तिमोर्चाका अध्यक्ष जयकृष्ण गोइत, जनतान्त्रिक तराइ मुक्तिमोर्चाका अध्यक्ष ज्वाला सिंह र संयुक्त जनतान्त्रिक तराइ मुक्तिमोर्चा पवन समूहका सैन्य कमाण्डर फुदीरामबीचको संयुक्त बैठकले एकीकरणको घोषणा गरेको हो ।एकीकृत पार्टीका महासचिव ज्वाला सिंहले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार पार्टीको अध्यक्षमा जयकृष्ण गोइत र उपाध्यक्षमा पवन सिंहलाई चयन गरिएको छ । यस्तै पार्टीको तराइ सरकार प्रमुखमा आजाद र संगठन विभागमा फुदीरामलाई राखिएको पनि ज्वाला सिंहले बताउनुभयो । ज्वाला सिंहका अनुसार तीनै जनाको सयुक्त हस्ताक्षरमा पार्टी एकीकरण भएको घोषणा गरिएको हो ।वि.सं. २०६१ साउन १० गते जयकृष्ण गोइतले तराइमा सशस्त्र आन्दोलन गर्ने गरी जनतान्त्रिक तराइ मुक्तिमोर्चा गठन गरेका थिए । तर पछि २०६३ भदौमा मोर्चाका तत्कालीन पूर्वाञ्चल सैन्य कमाण्डर ज्वाला सिंहको नेतृत्वमा पार्टी विभाजन भएको थियो ।

No comments: