News

Jan 16, 2009

संघर्षरत ६ हतियारधारीले आत्मसमर्पण गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र संघर्षरत भूमिगत समूहका ६ जना कार्यकर्ताले बिहीबार हतियारसहित जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।आत्मसमर्पण गर्नेमा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहसँग आबद्ध रहेको बताउने रौतहट हरदिया पल्टुवा-९ का २६ वर्षीय विनोद यादव, सर्लाही खहेरवा-९ धुर्वाटोलका १९ वर्षीय किसनन्दन यादव, रौतहट महम्मदपुर-९ लक्ष्मीनियाँका १६ वर्षीय लडाइँ यादव छन् । यसैगरी, अखिल तराई मुक्ति मोर्चा गोइत समूहका रौतहट गेडहीगुठी-८ का २२ वर्षीय देवेन्द्र सहनी, तराई आर्मीका रौतहट रघुनाथपुर-२ गम्हरिया बिर्ताका २१ वर्षीय तेजनारायण सहनी र सोही स्थानका १८ वर्षीय राकेश सहनीले आत्मसमर्पण गरेका छन् । उनीहरूले तीनथान नलकटुवा पेस्तोल र एक थान थ्री-फिफ्टी पेस्तोलका साथै त्यसमा लाग्ने सातथान गोलीसहित प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।भूमिगत समूहको कार्यनीति ठीक भए पनि संगठनभित्र आबद्ध कार्यकर्ताको क्रियाकलाप मन नपरेर संगठन त्याग गरी स्वतन्त्र जीवनयापन गर्ने उद्देश्यले आत्मसमर्पण गरेको उनीहरूले बताएका छन् । रौतहटका प्रहरी उपरीक्षक घनानन्द भट्टले आउने एक महिनाभित्र जिल्लामा भएका सबै भूमिगत समूहका कार्यकर्ताले आत्मसमर्पण गर्ने दाबी गरेका छन् ।

No comments: