News

Jan 3, 2009

लेखा अधिकृतमाथि आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भुक्तानी नदिएको झोकमा एक माओवादी कार्यकर्ताले कञ्चनपुर जिल्ला विकास समितिका लेखा अधिकृतको कार्यकक्षमा आगो लगाइदिएका छन् । फाइलमा सल्काएको आगोले लेखा अधिकृतलाई समेत भेटेको थियो । कानुनी प्रक्रिया नमिलाएको भन्दै भुक्तानी दिन अस्वीकार गरेपछि लेखा अधिकृत धनसिंह सार्कीमाथि शुक्रबार दिउँसो आगजनी गरिएको हो । माओवादी कार्यकर्ता देवसिंह नेगीलाई भुक्तानीका लागि कानुनी प्रक्रिया पूरा गर्न अधिकृत सार्कीले आग्रह गर्दा आवेशमा आएका नेगीले फाइल जलाएका थिए । आगोको लप्काले भेटेर अधिकृत सार्कीको हात, गलबन्दी जलेको छ । उनलाई जिविसकै गाडीचालक रामलाल चौधरीले जोगाए । 'यसले जोगायो, नत्र पूरै जल्ने थिएँ,' अधिकृत सार्कीले भने । उनको टेबुलमा रहेका फाइल र दराजबाट समेत फाइल निकालेर नेगीले सार्कीलाई हिर्काएका थिए । उनले सबै फाइल यत्रतत्र फालेका छन् ।कार्यकक्षमा आगो लगाउँदा सँगैको अर्को कोठामा प्रमुख जिल्ला अधिकारी कलाधर देउजा, स्थानीय विकास अधिकारी श्यामराज अधिकारी, संविधानसभा सभासद् देवीलाल चौधरी, राजनीतिक दलका प्रतिनिधि कार्यक्रममा व्यस्त थिए । नेगीले तथानाम गाली गरी शरीरमा आगो लगाउँदासमेत कसैले पनि वास्ता नगरेको सार्कीले गुनासो गरे । 'आधा घन्टासम्म आतंक मच्चाउँदासमेत कसैले ध्यान दिएन,' उनले भने, 'दलित भएकाले सबैले हेपे ।' नेगी भीमदत्त नगरपालिका- १६ मझगाउँ एयरपोर्ट-झोलुंगे ग्राभेल सडक उपभोक्ता समितिका अध्यक्ष पनि हुन् । सो सडकमा ग्राभेल गर्दा जिविसले ग्राभेल ढुवानी करबापत आठ हजार सात सय ४५ रुपैयाँ काट्न खोजेपछि नेगी आक्रोसित भएका हुन् । 'नयाँ नेपालमा पुरानो ढर्रा चल्दैन । ढुवानी कर तिरिँदैन,' भन्दै आक्रमण गरेको प्रत्यक्षदर्शी अर्का जिविस कर्मचारीले बताए । नेगी अधिकृत सार्कीलाई तथानाम गाली गर्दै बाहिरिएका थिए ।प्रमुख जिल्ला अधिकारी देउजा, स्थानीय विकास अधिकारी श्यामराज अधिकारी, माओवादी सभासद् देवीलाल चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले घटनास्थलको डेढ घन्टापछि निरीक्षण गरेका थिए । प्रहरीले घटनाको प्रकृति विवरण लिएको छ ।कार्यालयमा आएर आक्रमण गर्नु निन्दनीय भएको प्रजिअ देउजाले बताए । लेखा अधिकृत सार्कीले उजुरी नदिएकाले कस्तो कारबाही गर्ने भन्ने टुंगो नलागेको प्रतिक्रिया उनले दिए । उता अधिकृत सार्कीले भने उजुरी दिइरहनु आवश्यक नभएको बताए । 'सरकारी कार्यालयमा यस्तो घटना भएको छ, के उजुरी दिइरहनुपर्‍यो,' उनले भने । जिविस कर्मचारीहरूले घटनाको विरोध गरेका छन् ।

No comments: