News

Jan 14, 2009

प्रचण्डले प्रतिपक्षी जस्तो व्यवहार देखाएको भन्दै चर्को असन्तुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो नेतृत्वको सरकार ढालिए सत्ता कब्जा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भिव्यक्तिप्रति प्रतिपक्षी सहित सत्ताधारी दलहरुले नै आक्रोशपूर्ण आपत्ती जनाएका छन्। प्रधानमन्त्रीको सो भनाइ संवैधानिक र शान्ति प्रकृया तथा सहमतिको राजनीति विपरित भएको टिप्पणी पनि उनीहरुको छ। मंगलबार खुलामञ्चको एउटा कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले 'प्रतिगामी र यथास्थितिवादीले वर्तमान सरकार ढालेको भोलिपल्टै जनताले विद्रोह गरी सत्ता कब्जा गर्ने' चेतावनी दिएका थिए। 'यथास्थितिवादी' भन्ने शब्द खासगरी नेपाली कांग्रेस लगायतका दललाई आलोचनात्मक रुपमा सम्बोधन गर्दा माओवादी नेताहरुले चल्तीमा ल्याउने गर्छन्। तर सरकार ढाल्ने सोचाइसम्म नबनाएको बताउँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भनाइप्रति तीव्र आक्रोश प्रकट गरे। उनले भने, "सरकारको असफलता ढाकछोप गर्ने हतास मनस्थितिको उपज हो। हामी त्यस्तो धम्कीबाट डराउनेवाला छैनौ। सत्ता कब्जाको सपना नदेखे हुन्छ।" प्रधानमन्त्रीले आफ्नै सरकारका साझेदार दलहरुको पनि चर्को आलोचना खेप्नु परेको छ। बीबीसीसंग कुरा गर्दै सरकारको दोश्रो ठूलो घटक नेकपा एमालेका वरिष्ठ नेता इश्वर पोखरेलले भने, "प्रधानमन्त्रीको भनाइलाई पनि शान्तिपूर्ण रुपमा सत्ता कब्जा गर्ने माओवादी नेताहरुको बेला बेला आउने अभिव्यक्तिसंगै जोडेर हेर्नुपर्छ।" अर्को सत्ताधारी दल मधेशी जनअधिकार फोरमले प्रधानमन्त्रीको भनाइ संवैधानिक प्रकृया विरुद्ध रहेको प्रतिक्रिया दिएको छ। फोरमका नेता तथा मन्त्री जयप्रकाशप्रसाद गुप्ताले भने, "त्यसरी धम्क्याउनु भनेको सरकार गठन र परिवर्तनको निम्ति संविधानमा रहेको व्यवस्था नमान्ने प्रवृत्ति देखाउनु हो।" खुलासभामा, त्यो पनि पूर्वविद्रोही नेताले गरेको भाषणलाई त्यति गम्भीर रुपमा लिन आवश्यक नभएको उनको भनाइ थियो। संविधानसभा व्यवस्थापिका संसदमा दलहरुको स्थिति अनुसार एमालेको समर्थन रहँदासम्म प्रतिपक्षी वा अन्य सत्ताधारी दलले चाहेर पनि वर्तमान गठबन्धन सरकार ढल्ने छैन। तर प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी जस्तो व्यवहार देखाएको भन्दै सरकारमा सहभागी एमाले र फोरमप्रति नै बेला बेला चर्को असन्तुष्टि प्रकट गर्दै आएका छन्।

No comments: