News

Jan 6, 2009

आमालाई बोक्सी आरोप लागेपछि छोरीले पढ्न पाइनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दैलेख, २१ पुस आमालाई बोक्सीको आरोप लागेपछि उनकी छोरीले स्कुल जान पाएकी छैनन् । दैलेख बेलपाटा- २ मटेलाकी देवीसरा विकलाई गाउँलेले बोक्सीको आरोप लगाएपछि त्रिवेणी संगम मावि थुप्रामा ५ कक्षामा अध्ययनरत उनकी छोरी रीताको स्कुल जान बन्द भएको हो । बाटामा हिँड्दा छर-छिमेकलगायत आफ्नै साथीले समेत 'बोक्सीकी छोरी' भनेर कुरा काट्न थालेपछि दुई महिनादेखि स्कुल नगएको रीताले बताइन् । 'बुबा विदेशमा हुनुहुन्छ, आमालाई बोक्सी भनेर गाउँलेले गाउँबाटै निकाल्ने धम्की दिएका छन्,' रीताले दुःखेसो पोखिन्, 'अहिले हामीले समेत पढ्न नपाइने भयो ।' सबै गाउँले मिलेर आफूहरूलाई हेय दृष्टिले हेर्ने गरेको उनको गुनासो छ । तीन छोरीसहित घरमा रहेकी देवीसराले गाउँले मिलेर बोक्सीको आरोप लगाउँदै गाउँ निकालासम्मको धम्की दिएपछि न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएको बताइन् । गाउँका ठूलाठालू भन्नेले समेत बोक्सीका आरोपमा आफूलाई मानसिक र शारीरिक यातना दिने गरेको पीडितको गुनासो छ । 'छिमेकी सुक्मा विकले गाउँका ३५ जना 'ठूलाबडा' जम्मा गरी पीपलको बोटमा बाँधेर बेइज्जत गर्दै सिस्नोपानी लगाएपछि न्याय माग्न आएकी हुँ,' देवीसराले भनिन् । सुक्माले बोक्सीकी छोरी भन्दै कुटेपछि र गाउँलेले बेइज्जत गरेपछि छोरी दुई महिनादेखि स्कुल नगएको देवीसराले बताइन् । देवीसराले जिल्ला प्रहरी कार्यालय, दैलेखमा सुक्माविरुद्ध मुद्दा दायर गरी कारबाहीको माग गरेकी छिन् ।

No comments: