News

Mar 14, 2009

चीनको आन्तरिक मामलामा गम्भीर हस्तक्षेप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्गटन/ चिनियाँ सञ्चारमाध्यमले अमेरिकी प्रतिनिधिसभाले बुधबार तिब्बतबारे एक प्रस्ताव पारित गरी चीनको आन्तरिक मामलामा गम्भीर हस्तक्षेप गरेको बताएका छन् । यस प्रस्तावले विगत ५० वर्षमा तिब्बतमा राजनीतिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा भएको उल्लेखनीय तथा व्यापक मात्रामा मान्यताप्राप्त प्रगतिलाई उपेक्षा गरेको बताइएको छ । चीनको सरकारमाथि उसको तिब्बत नीतिलाई लिएर आधारहीन आरोप दोहोर्‍याइएको प्रस्ट पार्दैर् प्रस्तावले दलाई लामाको पृथकतावादी गतिविधिलाई उचालेको आरोप अमेरिकामाथि लगाइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता मा झाओसुले अमेरिकी प्रतिनिधिसभाका सदस्यहरूसमक्ष अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देशित गर्ने आधारभूत नियमलाई पालन गर्न र तिब्बतबारे विधेयक ल्याउन रोक्न आवश्यक भएको बताएका छन् । 'तिब्बत मामला चीनको विशुद्ध घरेलु मामला हो । सधैंझैं चिनियाँ सरकार र जनताले तिब्बतका सन्दर्भमा कुनै व्यक्ति वा देशको हस्तक्षेपविरुद्ध रहिआएका छन्,' प्रवक्ताले भने । यस वर्ष तिब्बतमा सामन्तवादी शासन अन्त्य भएको पचासौं वाषिर्की मनाइँदैछ । ५० वर्षपहिले दलाई लामा र उनका समर्थकहरूले तिब्बतमा थालिएको सुधार कार्य बिथोल्न र तिब्बत क्षेत्रलाई चीनबाट अलग्याउन गरेको सशस्त्र विद्रोह दबाएको थियो । मार्च २८, १९५९ का दिन तिब्बतमा नयाँ सरकार गठन गरी लाखौं तिब्बती जनतालाई दासताबाट मुक्त गरिएको थियो । त्यतिवेला तिब्बतको जनसंख्याको ९० प्रतिशत कमारा प्रथामा जकडिएको थियो । प्रवक्ताले बताएअनुसार विगत ५० वर्षयता राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गरेको प्रगतिले गर्दा लाखौं-लाख तिब्बती जनता आफ्नो तिब्बती भूमिको मालिक बन्न सकेका छन् । केही चीनविरोधी पश्चिमी तत्त्वहरूको उक्साहटमा दलाई लामा र उनका समर्थकले तिब्बतलाई चीनबाट अलग्याउने र कमारा प्रथा फर्काउनेजस्ता भ्रमपूर्ण गतिविधि गर्ने प्रयासमा लागेका छन् । गत वर्ष दलाई लामाका समर्थकहरूले चीनको केन्द्रीय सरकारमाथि दबाब दिन दंगाफसाद गरेका थिए । त्यस दंगामा १८ नागरिकको ज्यान जानुका साथै सम्पत्तिको निकै बढे क्षति भएको थियो ।

No comments: