News

Apr 1, 2009

माओवादीका जनजाति समितिमा गैरजनजाति इन्चार्ज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जातीय नारालाई प्रोत्साहन दिँदै आएको माओवादीले पछिल्लो समयमा १९ वटा जाति पहिचान गरी तिनको संयोजन गर्न इन्चार्ज तोकेको छ । एउटा जातीय समूहमा अर्कै जातिको नेतालाई संयोजक बनाउने रणनीति उसले अपनाएको छ । एकताकेन्द्र मसालसँग पार्टी एकीकरणपछि बसेको माओवादी केन्द्रीय समिति बैठकले जातीय संगठनहरूको नेतृत्व तोकेको सर्कुलर राज्य समितिस्तरसम्म पुर्‍याइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेर राज्य समितिका इन्चार्जहरूलाई पठाएको सर्कुलरमा १९ वटा जात नै तोकेर इन्चार्जको जिम्मेवारी बाँडिएको छ । तीमध्ये नेवार जातिको इन्चार्ज मात्रै सोही मूलका नेता छन् भने बाँकी सबै जात हेर्ने मुख्य जिम्मेवारी अर्को जातिका नेताहरूलाई दिइएको छ । यहाँसम्म कि महिला समूहको नेतृत्व पुरुषको हातमा परेको छ । माओवादीले १३ वटा प्रस्तावित राज्य समितिमध्ये आठवटा जातीय राज्य समिति गठन गरेको छ । सचिवालय सदस्य तथा कानुनमन्त्री देव गुरुङलाई जातीय इन्चार्ज तोकिएको छ । उनी माओवादी सचिवालय सदस्य हुन् । नेवार जातिको इन्चार्ज सोही मूलका नेता एवं पोलिटब्युरो सदस्य हितमान शाक्यलाई बनाइएको छ । शाक्य माओवादीद्वारा प्रस्तावित नेवा राज्य समितिका इन्चार्ज पनि हुन् । मगरको इन्चार्ज पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई बनाइएको छ । उनी माओवादीको प्रस्तावित मगरात राज्य समितिका इन्चार्ज हुन् । माओवादीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय समितिमा मगर मूलका स्थापित नेताहरू रहेका छन् । ओलीलाई अल्पसंख्यक छन्तेल जातिको समेत इन्चार्ज बनाइएको छ । पोलिटब्युरो सदस्य हरिभक्त कँडेल प्रतीकलाई थारू जातिको इन्चार्ज बनाइएको छ । बाहुन मूलका कँडेल माओवादीको थारुवान राज्य समितिका समेत इन्चार्ज हुन् । माओवादीले तामाङ जातिको इन्चार्ज पोलिटब्युरो सदस्य अग्निप्रसाद सापकोटालाई बनाएको छ । उनी माओवादीको ताम्सालिङ राज्य समितिका इन्चार्जसमेत हुन् । सापकोटालाई शेर्पा जातिको समेत इन्चार्ज बनाइएको छ । किराँती जातिको इन्चार्जमा माओवादीले पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देललाई तोकेको छ । उनी माओवादीको किराँत राज्य समितिका इन्चार्ज हुन् । माओवादीले लिम्बू जातिको इन्चार्जमा गैरलिम्बू नारायणप्रसाद शर्मा कमलप्रसादलाई तोकेको छ । पोलिटब्युरो सदस्य रहेका शर्मा लिम्बूवान राज्य समितिका समेत इन्चार्ज हुन् । गुरुङ (तमु) जातिको इन्जार्जमा माओवादील पोलिटब्युरो सदस्य हितराज पाण्डे उत्तमलाई तोकेको छ । पाण्डे माओवादीद्वारा प्रस्तावित तमुवान राज्य समितिका इन्चार्ज हुन् । माओवादीले लामा जातिको इन्चार्जमा दलित जातिका नेता खड्गबहादुर विश्वकर्मालाई तोकेको छ । विश्वकर्मा माओवादीको भेरी-कर्णाली राज्य समिति इन्चार्ज हुन् । माओवादीले माझी जातिको इन्चार्जमा केन्द्रीय सदस्य गंगा श्रेष्ठलाई जिम्मा दिएको छ । श्रेष्ठ माओवादीका सिन्धुली जिल्ला इन्चार्ज हुन् । अल्पसंख्यक थामी जातिको इन्चार्जमा माओवादीले केन्द्रीय सदस्य जितवीर लामालाई तोकेको छ । लामा ताम्सालिङ राज्य समितिका सेक्रेटरी हुन् । मधेसी जाति हेर्ने इन्चार्जमा माओवादीले कोचिला राज्य समितिका इन्चार्ज तथा भूमिसुधार आयोग अध्यक्ष हरिबोल गजुरेल शीतलकुमारलाई जिम्मा दिएको छ । अल्पसंख्यक चेपाङ जातिको इन्चार्जमा माओवादीले केन्द्रीय सदस्य सूर्य सुवेदीलाई तोकेको छ । सुवेदी माओवादीका चितवन जिल्ला इन्चार्ज हुन् । दनुवार इन्चार्जमा नुवाकोट जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य कुमार दाहाललाई जिम्मेवारी दिइएको छ । अल्पसंख्यक कुमाल र बराम जाति हेर्ने इन्चार्जमा माओवादीले केन्द्रीय सदस्य हरि अधिकारीलाई जिम्मेवारी दिएको छ । अधिकारी तमुवान राज्य समितिमा कार्यरत छन् । कोचिला (कोच) जातिको इन्चार्ज प्रह्लाद बुढाथोकीलाई बनाइएको छ । केन्द्रीय सदस्य रहेका बुढाथोकी कोचिला राज्य समितिका सहइन्चार्ज हुन् । थकाली जातिको इन्चार्जमा तमुवान राज्य समितिका सेक्रेटरी श्रीराम ढकाल प्रशान्तलाई चुनिएको छ । यतिसम्म कि माओवादीले महिलाको इन्चार्जमा सचिवालय सदस्य लीलामणि पोखरेललाई तोकेको छ । पोखरेल माओवादीले गठन गरेको उच्चस्तरीय मधेस आयोगका संयोजक हुन् । माओवादीको पोलिटब्युरोमा नै दुईजना महिला नेतृ छन् । मुस्लिम जातिको इन्चार्ज देवेन्द्र पौडेल सुनिललाई तोकिएको छ । सुनिल माओवादीको अबध राज्य समितिका इन्चार्ज हुन् । माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, 'हामीले निरपेक्ष समावेशीकरण सम्भव देखेका छैनौं । जातीय उत्पीडनको माओवादी विरोधी हो । तर जातिवादी होइन ।' उनले जातिवादी दृष्टिकोणले माओवादीलाई हेर्न नहुनेसमेत तर्क गरे । 'समावेशीकरणको नाममा अन्तर्राष्ट्रियवादी आइएनजिओ र एनजिओले फाइदा उठाउन खोजेका छन्,' शर्माले भने, 'हामीले पार्टीभित्र जातीय र वर्गीय नेतृत्वबीच फ्युजन गराएका छौँ । '

No comments: