News

Jan 5, 2009

आक्रमणमा भण्डारीहरूसहित दश जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी कार्यकर्ताले विरोधमा बसेका पशुपतिनाथ मन्दिरका भण्डारी र स्थानीयवासीलाई आइतबार साँझ आक्रमण गरेका छन् । आक्रमणमा भण्डारीहरूसहित दश जना घाइते भएका छन् । उनीहरूमध्ये दुईलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। जसमा एकजना केदारमान राजभण्डारी छन्। परम्परागत धर्म संरक्षण समितिले पशुपतिको पश्चिम ढोकाअगाडि आयोजना गरेको पत्रकार सम्मेलनमा वाइसीएलले आक्रमण गरेको हो। माओवादी आक्रमणवाट हरिहरमान राजभण्डारी, केदारमान राजभण्डारी, सरोज कर्माचार्य लगायतका १० घाइते भएका छन । आक्रमणमा नेपाल टेलिभिजनका क्यामराम्यान टेकबहादुर खड्कापनि घाइते भएका छन । 'राजालाई त हटायौं, तिमीहरू को हौ ?' भन्दै अदालतको आदेश नमान्ने कुरा गर्दै माओवादीहरूले आफूहरुमाथि आक्रमण गरिएको घाइतेले बताए । पशुपतिमा नयाँ पुजारी ल्याइएपछि भण्डारीहरूले समितिमार्फत् त्यसको विरोध गर्दै आएका छन्। आइतबार अपराह्न आयोजना गरिएको सम्मेलनमा समाचार संकलनका लागि पुगेका नेपाल टेलिभिजन र नेपाल वान टेलिभिजनका पत्रकारहरूमाथि समेत वाइसीएल कार्यकर्ताले आक्रमण तथा दुर्व्यवहार गरेका थिए। सम्मेलन सुरु हुनासाथ करिब एक सय जनाको संख्यामा आएका वाइसीएल कार्यकर्ताले माइक खोस्दै भण्डारीहरूलाई निर्घात कुटपिट गरेका थिए। समूहको नेतृत्व नेवाः मुक्ति मोर्चाका स्थानीय कमाण्डर रमेश डंगोलले गरेका थिए। घटनास्थलमै उपस्थित पशुपति विकास कोषका पदाधिकारी र प्रहरीले वाइसीएल आक्रमणमा मुकदर्शक मात्र बनेको समितिका प्रवक्ता हरिहरमान राजभण्डारीले बताए। उनको पनि आँखा र टाउकोमा चोट लागेको छ। घटनापछि पत्रकार सम्मेलन स्थगित गरिएको थियो।नेपाल भ्रमणमा रहेका भारतीय नेताहरू मुलायमसिंह यादव र अमरनाथ सिंहको पशुपतिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम स्थगित भएको छ। पशुपतिनाथका भारतीय मुल पुजारी र पुजारीलाई हटाई नेपाली पुजारी नियुक्त गरिएको सवाललाई लिएर पशुपति क्षेत्रमा विवाद र तनाव बढेका कारण उनीहरूको दर्शन कार्यक्रम स्थगित भएको हो। राष्ट्रपति रामवरण यादवको व्यक्तिगत निम्तामा दुई दिने भ्रमणमा आएका समाजवादी पार्टीका अध्यक्ष यादव र महासचिव सिंहले सोमबार पशुपतिको दर्शन गर्ने कार्यक्रम थियो। पशुपतिनाथ मन्दिरमा नयाँ पुजारी नियुक्तिलाई लिएर विवाद उठिरहेकाबेला पशुपति क्षेत्र विकास कोषले आइतबार नवनियुक्त भट्ट पुजारी विष्णु दाहाललाई पूजामा सहयोग गर्न दुई नयाँ ब्राह्मण नियुक्त गरेको छ। नवनियुक्त दुवै ब्राह्मणले काम सुरू गरिसकेका छन्। भण्डारीका ठाउँमा ब्राह्मण नियुक्त गरेपछि भण्डारीहरूको संस्था पशुपति सेवक संघका सहसचिव हरिहरमान राजभण्डारीले आपत्ति जनाएका छन्। ‘भण्डारीले काम गर्दै आएको ठाउँमा दुई नयाँ ब्राह्मण राखेर सरकारले फेरि राजनीतिक हस्तक्षेप गरेको छ,’ उनले भने, ‘भट्ट पुजारीको ठाडो नियुक्तिपछि सरकारले गरेको यो निर्णयको हामी थप विरोध गर्छौं।’ कोषका सदस्य सचिव परमान्द शाक्यले दुई ब्राह्मणलाई अस्थायी नियुक्ति गरेको बताए। नवनियुक्त दुबै पुजारीहरू माओवादी समर्थक रहेको बताइएको छ ।

No comments: