News

Jan 12, 2009

चारमा चुनाव उन्नाईस समितिमा निर्विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान लेख्ने विभिन्न दश सहित तेइसवटा समितिमध्ये उन्नाईवटाका सभापति निर्विरोध चुनिएका छन्। सत्तासीन र प्रतिपक्षीदलहरुबीच सोमबार भएको सहमति पछि त्यो सम्भव भएको हो। तर अन्य चारवटा समितिमा सहमति हुन नसक्दा त्यसको चुनाव मंगलबार हुँदैछ। निर्विरोध भएका सभापतिहरुको औपचारिक घोषणा पनि सोही दिन हुनेछ। नयाँ संविधान लेख्ने प्रमुख समिति मानिने संवैधानिक समितिको सभापतिमा उम्मेदवारी दिएका नेकपा एमालेका महासचिव माधवकुमार नेपाल निर्विरोध चुनिन सकेनन्। उनको विरुद्ध एउटा सानो दल दलित जनजाति पार्टीका विषेन्द्र पासवानले उम्मेदवारी दिएका छन्। तर प्रमुख दलहरुबीच सोमबार अन्तिम घडीमा देखा परेको सामान्य मतभेदले सहमति बिथोल्ने गरी ठूलै रुप नलिएमा नेता नेपाल संवैधानिक समितिको सभापति चुनिने करिव निश्चित जस्तै छ। उनलाई नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरुको साथ छ। संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्दप्रसाद शर्माका अनुसार राज्यव्यवस्था समितिमा नेकपा माओवादी र नेकपा एमाले दुबैले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन्। चुनाव हुने अन्य दुई समितिमा दुई सत्ताधारी दल नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका उम्मेदवारलाई अन्य दुई साना दलले चुनौती दिएका छन्। त्यस्तो चुनौती दिनेमा नेकपा माले र नेपाल सद्भावना पार्टीका उम्मेदवार छन्। अर्को सानो दल राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलहरुको भागबण्डाप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले भने, "त्यो अधिनायकवादी शैली हो। हामी त्यस विरुद्ध एकजुट हुनेछौ।" नयाँ संविधान लेख्न गठन गरिएका दशवटा समितिहरुले नेतृत्व नपाउँदा संविधान लेखनले गति लिन सकेको थिएन।

No comments: