News

Jan 11, 2009

श्रीमान्ले दोस्रो विवाह गरेपछि छोरीसहित प्रहरी शरणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ, २६ पुस श्रीमान्ले दोस्रो विवाह गरेपछि बाग्लुङ जैदी-६ की प्रेमकुमारी राना बिचल्लीमा परेकी छिन् । २५ वषीया प्रेमकुमारी २१ दिनकी छोरी च्यापेर न्याय खोज्दै जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेकी छिन् । दुई छोरालाई पढाउन सदरमुकाम बाग्लुङ बजार बस्दै आएकी प्रेमकुमारीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै सँगै बस्ने देवर तमसम रानाले कुटपिट गरेपछि उनी माइतीमा बस्दै आएकी थिइन् । देवरबाट निकालिएकी प्रेमकुमारी सासू-ससुराले पनि घरभित्र पस्न नदिएपछि माइतमा बस्दै आएकी थिइन् । सासू-ससुराबाट अपहेलित भए पनि नौमहिने गर्भ बोकेर श्रीमान्को प्रतीक्षा गरी बसेकी राना जतिवेला छाँगाबाट खसिन्, त्यतिवेला श्रीमान्ले दोस्रो विवाह गरेको खबर सुनिन् । 'देवर र सासू-ससुराबाट अपहेलित भएपछि श्रीमान्को प्रतीक्षामा बसेकी थिएँ, तर श्रीमान्ले पनि मेरो पीडा बुझेनन्,' दुई छोरा र एक छोरीकी आमा प्रेमकुमारीले रुँदै भनिन्, 'अब म कहाँ जाऊँ ।' भारतीय सेनामा कार्यरत श्रीमान् डिलकुमारले आमाबाबुको पक्षमा लिई गत ३ मंसिरमा पैयू-७ की चमेली थापासँग विवाह गरेपछि न्यायको लागि प्रहरीमा आउन बाध्य भएको प्रेमकुमारीले बताइन् । गर्भवती अवस्थामा रहेकी श्रीमतीलाई बेवास्ता गरी दोस्रो श्रीमती विवाह गर्ने डिलकुमार र भाउजूलाई कुटपिट गर्ने देवर तमसमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा परेपछि डिलकुमारले छोरी काखी च्याप्दै दुई श्रीमतीलाई मिलाएर राख्ने बताए । तर, कानुनले बहुविवाहलाई मान्यता दिँदैन । घरेलु हिंसापीडित प्रेमकुमारीलाई न्याय दिई बहुविवाह गर्ने दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रहरी नायव उपरीक्षक प्रदीपकुमार श्रेष्ठले बताएका छन् । महिला अधिकारवादीले पीडितलाई न्याय, उचित क्षतिपूर्ति, सम्मानित जीवनयापनको व्यवस्था र दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

No comments: