News

Jan 11, 2009

मन्त्रीहरु नै नक्कली प्लेटका गाडी चढ्छन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागी केही मन्त्रीले ऐन-नियमको खिल्ली उडाउँदै किर्ते काम गरिरहेका छन् भन्दा धेरैलाई अचम्म लाग्ला । तर, वास्तविकता यस्तै छ । वर्तमान सरकारका तीन मन्त्री आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर नेपाली झन्डा फहराउँदै कुद्छन् । रक्षामन्त्री रामबहादुर थापा बादल, आपूर्तिमन्त्री राजेन्द्र महतो र संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले आफू चढ्ने गाडीमा नक्कली नम्बर-प्लेट राखेर चलाइरहेका छन् ।आपूर्तिमन्त्री महतोले चढ्ने नेपाल आयल निगमको ल्यान्डक्रुजर गाडीको नम्बर-प्लेट हेर्दा हाँसो उठ्छ । उनको बा ६ च ४४४४ नम्बरको गाडीमा राखिएको नम्बर-प्लेट न त सरकारी हो, न निजी । झट्ट हेर्दा निजीजस्तो देखिने महतोको गाडीको नम्बर-प्लेटमा रातो र नीलो रङ मिसिएको छ । यसले न निजी गाडीको संकेत गर्छ न त सरकारी नै । ट्राफिक प्रहरीको भाषामा यस्ता नम्बर-प्लेट नक्कली ठहरिन्छन् । यातायात व्यवस्था विभागले 'च' लाई निजी र 'झ' लाई संकेत अक्षरका रूपमा सरकारी गाडीको दर्तामा प्रयोग गर्छ । तर, महतोले चढ्ने गाडीमा च लेखिएको छ, तर प्लेट भने रातो-नीलो छ । स्रोतका अनुसार मन्त्री महतोका ड्राइभरले 'हजुर ! यो त नम्बर नै मिलेन, न सरकारी भयो न निजी, मिलाएर राख्नुपर्‍यो' भनेर पटक-पटक सम्झाएका छन् । तर, महतोले त्यसको वास्तै गरेका छैनन् । यो तथ्य मन्त्री महतोको हेपाहा प्रवृत्ति उजागर गर्न काफी छ । निजी नम्बरलाई सरकारी वा सरकारीलाई निजी नम्बर बनाउँदा गृह मन्त्रालयको सिफारिस चाहिने कानुनी प्रावधान छ । गृहको सिफारिसअनुसार यातायात व्यवस्था विभागले 'सीमित समयावधिका लागि' नम्बर-प्लेट परिवर्तन गरिदिन्छ । तर, मन्त्री महतोले यो प्रक्रिया अपनाउन नै चाहेनन् । उता, रक्षामन्त्री बादल चढ्ने गाडीमा त नम्बर-प्लेट नै दुई/दुईवटा छन् । उनी चढ्ने गाडीलाई राम्रोसित नियाल्ने हो भने जोसुकैले दुईवटा नम्बर-प्लेट सजिलै देख्छ । मन्त्री बादल चढ्ने हरियो रंगको स्कारपियो गाडीमा अगाडि र पछाडि सरकारी नम्बर-प्लेट बा १ झ ७०६२ राखिएको छ । तर, गाडीको वास्तविक नम्बर-प्लेट भने यो होइन । त्यही नम्बर-प्लेटको भित्रपट्टि गाडीको वास्तविक नम्बर-प्लेट छ । जसमा लेखिएको छ, बा ६ च ७६७३ । यो निजी नम्बर-प्लेट हो । सवारी तथा यातायात व्यवस्था ऐनअनुसार एउटै गाडीमा दुईवटा नम्बर-प्लेट राख्नु वा नक्कली नम्बर-प्लेट राख्नु अपराध मानिएको छ । त्यस्तो गरेको पाइएमा कारबाहीको व्यवस्था पनि ऐनमा गरिएको छ । मन्त्री बादललाई भने अहिलेसम्म ऐनले छोएको देखिँदैन । नक्कली सरकारी नम्बर-प्लेटले गाडीको वास्तविक नम्बर-प्लेट ढाकेर मन्त्री बादल नेपाली झन्डा फहराउँदै हिँड्छन् ।नक्कली नम्बर-प्लेट राखेको गाडी चढ्ने अर्का मन्त्री हुन्, संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँती । उनले टोयटा कम्पनीको ल्यान्डक्रुजर गाडी नारायणहिटी दरबारबाट झिकाएका हुन् । गाडीको ब्लुबुकमा बा ३ च ३५७९ छ । तर, अहिले सो नम्बरलाई सरकारी बनाएर मन्त्री किराँती चढिरहेका छन् । अहिले सो गाडीमा बा १ झ १११४ नम्बर-प्लेट राखिएको छ । मन्त्री किराँतीका अनुसार उनले दरबारबाट झिकाउँदा गाडीमा बा ४ झ १११४ को नम्बर-प्लेट थियो । 'त्यो मिलेन भने, अनि बा १ झ १११४ बनाएँ,' उनले नयाँ पत्रिकासित भने । उनले सबै कानुनी प्रक्रिया मिलाएर नम्बर-प्लेट फेरेको दाबीसमेत गरे । यो गाडी तत्कालीन युवराज पारसले चढ्ने गरेका थिए । गाडीको ब्लुबुकमा पनि सवारीधनीको नाम 'श्री ५ युवराजाधिराज' नै लेखिएको छ ।

No comments: