News

Jan 6, 2009

बम पड्किएर नायक राजेश ढुंगाना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्माणाधीन फिल्म 'द मोस्ट वान्टेड' को सुटिङमा बम पड्किएर नायक राजेश ढुंगाना घाइते भएका छन् । काठमाडांैको रानीबारीमा 'द मोस्ट बान्टेड' को क्लाइमेक्स फाइटको सुटिङ भइरहेको थियो । सोमबार राजेशबाहेक निखिल उप्रेती तथा नवनायिका तेजुला खतिवडाको सिन सुटिङ भइरहेको थियो । निर्माता कुमार श्रेष्ठ आफै द्वन्द्वनिर्देशक रहेको उक्त फिल्मको सोमबारको सुटिङमा कुमारका सहायक शंकरले फाइट सट निर्देशन गरिरहेका थिए । सटमा नायक राजेशले उडेर बम नाघ्नुपर्ने थियो । नायक राजेशले उडेर बम नाघिसकेपछि बम पड्कनुपर्नेमा बम पड्काइको 'टाइमिङ' मिलेन । जब राजेश उफ्रीए तब बम पड्कियो र बमका छर्राले राजेशको छातीमा लाग्न पुग्यो । छर्राले लागेर नायक राजेशको छाती, घाँटी तथा खुट्टामा फोकैफोका उठेका छन् । दिउँसो अढाई बजेतिर दुर्घटना भएपछि तत्कालै प्रस्तुतकर्ता रामभक्त श्रेष्ठले नायक राजेशलाई शिक्षण अस्पताल पुर्‍याएका थिए । 'साह्रै डर लाग्यो, बम लागेपछि बाँच्दिनँजस्तो लागेको थियो, धन्न केही भएन'- इमर्जेन्सीको बेडबाट नायक राजेशले भने । उनलाई चिकित्सकले एक हप्ता अस्पतालमा बस्नुपर्ने सुझाव दिएका छन् । शरीरको जलेको भागमा पोल्न कम हुने मलम लगाइनुका साथै स्लाइन-पानी चढाइएको छ । छातीमा छाम्दै राजेशले भने- 'यहाँको मासु मरेजस्तो छ । छोएको थाहै हुन्न ।' सोमबारको सुटिङमा द्वन्द्वनिर्देशन डिपार्टमेन्टको कमजोरी तथा हेलचेक्र्याइँले गर्दा उक्त घटना घट्न पुगेको एक प्राविधिक बताउँछन् । यसभन्दा अगाडि मैदान फिल्मको सुटिङमा पनि नायक राजेश हमालले हानेको तरबार फुत्किएर छायांकार युवराज राईको अगाडिका पाँचवटा दाँत झरेका थिए । सुटिङमा हुने लापरबाही तथा प्राविधिकको अक्षमताका कारण यस्ता जोखिमपूर्ण घटना पटक-पटक दाहोरिने गरेका छन् ।

No comments: