News

Jan 6, 2009

सर्वोच्च अदालतका लागि दसजना न्यायाधीश सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा दुइजना स्थायी र आठजना अस्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश केदारप्रसाद गिरीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतमा दुइजना स्थायी न्यायाधीशका लागि कृष्णप्रसाद उपाध्याय र प्रेम शर्मालाई सिफारिस गरेको छ । उहाँहरू पुनरावेदन अदालत नेपालगञ्ज र पुनरावेदन अदालत जनकपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्छ । त्यसैगरी बैठकले सर्वोच्च अदालतमा आठजना अस्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेकामध्ये चारजना न्यायक्षेत्र र चारजना कानुन व्यवसायीहरूबाट रहेका छन् ।न्यायक्षेत्रबाट नियुक्तिका लागि सिफारिस गरिएकामा रणबहादुर बम, मोहनप्रकाश सिटौला, अवदेशकुमार यादव र गिरिशचन्द्र लाल रहेका छन् । उहाँहरू क्रमशः पुनरावेदन अदालत पाटन, बुटवल, तुलसीपुर र दिपायलमा कार्यरत हुनुहुन्छ ।त्यसैगरी कानुनव्यवसायीबाट वरिष्ठ अधिवक्ताहरू प्रकाश वस्ती, सुशीला कार्की, भरतराज उप्रेती र विपुलेन्द्र चक्रवर्ती रहेका छन् । उहाँहरूको नाम संसदीय समितिमा पठाइने र समितिले अनुमोदन गरेपश्चात राष्ट्रपति समक्ष पेस गरिने बताइन्छ ।परिषद्का सदस्य मोतिकाजी स्थापितको राजिनामा माग विवादका कारण बैठक बस्न नसकेकामा प्रधानमन्त्रीले स्थापितलाई यथावत् काम गर्न आग्रह गरेपछि बैठक बसेको हो ।

No comments: