लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो फिफा वर्ष खेलाडी घोषित भएका छन् । युरोपेली वर्ष खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित बालुन डी ओर अवार्डसमेत पाइसकेका रोनाल्डोले फिफा वर्ष खेलाडीका लागि काका, लियनल मेसी, फर्नान्डो टोरेस र जाभीजस्ता खेलाडीलाई पछि पारे । काका सन् २००७ का विजेता हुन् । 'मेरो क्यारियरको यो सुखद क्षण हो, म यो अवार्ड परिवार र साथीहरूमा समर्पीत गर्छु,' वर्ष खेलाडी घोषित भएपछि खुसी हुँदै रोनाल्डोले भने । च्याम्पियन्स लिग जितेको क्षण २००८ को सर्वाधिक स्मरणीय क्षण रहेको उनले बताए । उनले च्याम्पियन्स लिगको फाइनलमा अन्तिम गोल गरेका थिए । तर, चेल्सीविरुद्धको सो फाइनलमा पेनाल्टी सुट आउटलाई गोलमा परिणत गर्न भने उनी चुकेका थिए । 'म र क्लबका लागि यो सर्वाधिक सफल सिजन हो, प्रशिक्षक मेरा लागि निकै महत्त्वपूर्ण छन्, मैले उनीबाट धेरै सिकेको छु,' रोनाल्डोले आपना प्रशिक्षक एलेक्स फर्गुसनका बारेमा भने । रोनाल्डोले २००७/०८ को सिजनका सबै प्रतिस्पर्धामा गरी कुल ४२ गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडले इङ्लिस पि्रमियरसिप र च्याम्पियन्स लिगको उपाधि जित्दा उनी क्लबका प्रमुख 'आर्किटेक्ट' थिए । यद्यपि, रोनाल्डोका लागि सो वर्ष पूर्ण सुखद हुन सकेन । उनको मुलुक पोर्चुगल जर्मनीबाट ३-२ गोलअन्तरको पराजय भोग्दै युरोकपको क्वाटरफाइनलबाटै बाहिरिएको थियो । लुइस फिगोपछि फिफा वर्ष खेलाडी हुने उनी पोर्चुगलका पहिलो खेलाडी हुन् । एक सय ५५ मुलुकका प्रशिक्षक र कप्तानबाट उनले नौ सय ३५ अंक पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी लियन मेसीले ६ सय ७८ अंक पाए । सोभन्दा पछि टोरेस- दुई सय तीन, काका- एक सय ८३, र जाभी- एक सय ५५ थिए । महिला फिफा वर्ष खेलाडी ब्राजिलकी मार्ता भइन् । उनी लगातार तेस्रोपटक फिफा वर्ष खेलाडी भएकी हुन् ।
No comments:
Post a Comment