News

Jan 3, 2009

लोडसेडिङले नेपाली फिल्म निर्माता मारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दैनिक १४ घन्टा लोडसेडिङले नेपाली फिल्म निर्माता मारमा परेका छन् । हप्तैपिच्छे बढ्दै गएको लोडसेडिङले सुटिङ र अन्य प्राविधिक काममा समेत असर पारेको छ । लोडसेडिङले प्रदर्शनका क्रममा समेत दुःख पाएको बताउँछन् निर्माता । बिजुली नहँुदा सुटिङको समय बढ्नुका साथै अनुमानित बजेट पनि आकासिएकाले निर्माताहरू निराश छन् । 'लोडसेडिङको समस्या यस्तै भइरहने हो भने अब फिल्म बनाएर खाइन्न,' निर्माता केशव भट्टराईले भने । लोडसेडिङकै कारण निर्माणाधीन फिल्म दासढुंगाले दस हजारमा सकिने सिनका लागि झन्डै अढाइ लाख रुपैयाँ गुमाउनुपरेको सुनाउँछन् वितरक तथा निर्माण नियन्त्रक कुमार सिलवाल । भन्छन्, 'बत्ती नभएका कारण जेनेरेटर भाडामा ल्याएर सुटिङ गर्दा झन्डै डेढ लाख पर्ने चिम जल्यो ।' ३५ दिनको सुटिङ सेड्युल राखिए पनि लोडसेडिङका कारण ७२ दिनमा पनि अझै सुटिङ नसकिएको बताउँदै कुमार दासढुंगाको सुटिङ सकिन अझै दुई हप्ता लाग्ने बताउँछन् । अर्की निर्मात्री जेनी कुँवर पनि आजित छिन् । भन्छिन्, 'लोडसेडिङले निकै दुःख पाएकी छु । दस दिनको काम गर्न २५ दिन लाग्यो । बत्ती नभएका कारण फिल्मको सम्पादन पनि कतिवेला बत्ती आउँछ भनेर कुर्नुपरेको दुखेसो सुनाउँछिन् । छाडी गए पाप लाग्ला' निर्माण गरिरहेका निर्माता केशव भट्टराई लोडसेडिङका मारमा पिल्सिएका छन् । रन्किँदै भन्छन्, 'लोडसेडिङका कारण ठूला नेता भनौदा कहाँ बस्छन् भनेर उनीहरूको घरनजिकै ठाउँ खोजेर सुटिङ गर्नुपरेको छ । अरू ठाउँमा बत्ती गएको-गयै हुन्छ । बर्बाद पारेको छ लोडसेडिङले । १२-१५ हजार तिरेर बल्लतल्ल लोकेसन मिलाइएको हुन्छ, बत्ती नहुँदा फोकटमा पैसा तिर्नुपरेको छ ?' टेलीशृंखला दलनका निर्माता पूर्णसिंह बराइली पनि लोडसेडिङका कारण पीडित छन् । दलनको नयाँ गीत रेकर्ड गर्न बिहीबार कुन एरियामा बत्ती छ खोज्दै थिए । टेलिफोनमा कुरा गर्दै भने, 'हेर्नुस् न बत्ती नभएका कारण हामीलाई त काम गर्न नै गाह्रो भइसक्यो । आगामी हप्तादेखि दलनको कथा काठमाडौंतिर मोडिँदैछ । त्यसैका लागि नयाँ गीत रेकर्ड गर्न बत्ती भएको स्टुडियो खोज्दै हिँडेको छु ।' भाग्य आ-आफ्नोका निर्देशक रमेश कोइराला लोडसेडिङका कारण सिरियल बनाउन नसकेको दुखेसो पोख्छन् । त्यस्तै, करुणाका निर्माता/निर्देशक महेन्द्र बुढाथोकी पनि बत्ती नभएका कारण निकै सास्ती बेहोर्नुपरेको बताउँदै भन्छन्, 'करुणाको एडिटिङ गर्न बत्ती कुरेर रातदिन निद्रा, भोक नभनी काम गर्नुपरेको छ । यसरी कति दिन चल्ला ?' निर्देशक दयाराम दाहालको पनि गुनासो त्यस्तै छ । भन्छन्, 'लोडसेडिङसँगै तनाव पनि बढेको छ ।' दिनमा जम्मा आठ घन्टा मात्र बिजुली आउँदा निर्मातालाई फिल्म निर्माण निल्नु न ओकल्नु भएको छ । जेनेरेटर चलाएर सुटिङ गर्न निकै गाह्रो हुने गरेको बताउँदै द मोस्ट वान्टेडका निर्माता रामभक्त श्रेष्ठ भन्छन्, 'जेनेटरको आवाजले काम गर्ने मुडै आउँदैन । साउन्डमा डिस्टर्ब हुन्छ । जेनेरेटर चलाउँदा वरपरका मान्छेले डिस्टर्ब भयो भनेर कुट्नै खोज्छन् ।' निर्माताहरू लोडसेडिङविरुद्ध आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् । 'यसरी कति दिन चल्छ ? यो सरकार के हेरेर बसेको छ ? काम गरेर पनि खान नपाउने ? हाम्रो क्षतिपूर्ति सरकारले बेहोर्छ ?' निर्मात्री जेनी तात्तिँदै भन्छिन्, 'लोडसेडिङका विरुद्ध सडकमा ओर्लनुपर्छ ।'

No comments: