News

Jan 3, 2009

पहिलोपटक पशुपतिको भेटी सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पशुपति क्षेत्र विकास कोषले मन्दिरमा चढ्ने भेटी दैनिक रूपमा गन्ती गरी कोषमा दाखिला गर्ने भएको छ । मन्दिरमा नेपाली पुजारीको नियुक्तिसँगै शुक्रबारदेखि मन्दिरमा चढेको भेटी दैनिक रूपमा गनेर कोषमा रकम दाखिला गर्ने प्रक्रिया सुरु गरिएको हो । शुक्रबार बेलुका मन्दिर बन्द गर्नुअगाडि पशुपतिको मूल मन्दिर र वासुकी मन्दिरमा चढेको भेटी गनेर पशुपति भण्डार तहबिलमा दाखिला गरिएको छ । शुक्रबार वासुकी मन्दिरमा एक हजार नौ सय ३३ रुपैयाँ र पशुपति मन्दिरमा २९ हजार चार सय ३१ रुपैयाँ भेटी संकलन भएको कोषका एक अधिकारीले बताए । कोष पदाधिकारी, पहरागण, प्रहरी र मन्दिर दर्शन गर्न आएका भक्तजनको रोहवरमा भेटी गनिएको थियो । उनले मन्दिरका पुजारीका लागि निश्चित तलब तोकी मन्दिरमा चढ्ने भेटी दैनिक रूपमा कोषमा दाखिला गर्ने बताए ।पशुपति मन्दिरमा चढ्ने गरेको भेटी सार्वजनिक गरिएको यो पहिलोपटक हो । यसभन्दा अगाडि कोषले वाषिर्क रूपमा बालाचतुर्दशीको दिन भेटी, गरगहना र अन्य बहुमूल्य सामग्रीको लगत सार्वजनिक गरी मन्दिरको मूल ढुकुटीमा दाखिला गर्ने गरेको थियो । कोषले प्रक्रिया नपुर्‍याई मन्दिरको पुजारी नियुक्त गरेको भन्दै विरोधमा उत्रिएका राजभण्डारी र स्थानीय व्यक्तिले शुक्रबार पनि विरोध प्रदर्शन गरे । सर्वोच्च अदालतले बिहीबार नयाँ पुजारीलाई तत्कालका लागि पूजा नगराउन अन्तरिम आदेश दिए पनि कोष अधिकारीले सोको उल्लंघन गरेको भन्दै दैनिक चार बजे मूल मन्दिरमा पुग्नुपर्ने राजभण्डारी मन्दिरमै गएनन् । सहयोगी र अन्य भट्ट नआएपछि शुक्रबार पशुपतिनाथको नित्य पूजा र भोग हुन सकेन । सहयोगी नआए पनि मूलपुजारीमा नियुक्त गरिएका डा. विष्णुप्रसाद दाहाल र शालिकराम ढकाल बिहान पाँच बजे मन्दिर छिरेका थिए । उनीहरूले बिहान पाँच बजेदेखि मध्याह्न साढे एक बजेसम्म मन्दिरमा बसेर पूजा गरे भने बेलुका पाँच बजेदेखि डेढ घन्टा दुवैजना मन्दिरमा बसेका थिए । मन्दिरमा कार्यरत अन्य भट्टहरू पनि शुक्रबार मन्दिर आएनन् ।नित्य पूजाका लागि पशुपतिनाथको बहुमूल्य गहनाहरू झिकेर स्नान गराई पुनः गहना लगाउने गरिएको छ । शुक्रबार सर्वोच्च अदालतको लिखित फैसला कोषमा आइपुगे पनि कोष अधिकारीले सो लिन अस्वीकार गरेपछि अदालतका कर्मचारी कोषमा लिखित आदेश टाँसेर हिँडेका छन् । प्रधानमन्त्रीको कार्यालयले पनि सो पत्र बुझेन । उता कोषको व्यवहारको विरोधमा उत्रिएका राजभण्डारीहरू समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति डा. रामवरण यादवकोमा पुगेका छन् । उनीहरू बिहानै राष्ट्रपतिको कार्यालयमा पुगेर कोष अधिकारीले धर्ममाथि समेत राजनीतिक हस्तक्षेप गरेको गुनासो गरेका थिए ।

No comments: