News

Jan 5, 2009

गाजापट्टीमा इजरायली सेना र हमास लडाकूबीच भिडन्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गाजापट्टीमा इजरायली सेना र हमास लडाकूबीच भिडन्त सुरु भएको छ । शनिबार इजरायली थल सेना प्यालेस्टाइन प्रवेश गरेको थियो । एक साताअघि इजरायलले प्यालेस्टाइनबाट प्रहार हुने रकेट रोक्न गाजापट्टीमा हवाई आक्रमण गरेको थियो । गाजा सहरको उत्तरी गाउँ बेइतलाहिया र जाबालिया शरणार्थी शिविरमा दुवै पक्षबीच भिडन्त भएको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले आक्रमण तुरुन्त रोक्न अपिल गरेका छन् । सुरक्षापरिषद्को आपत्कालीन बैठक गाजा आक्रमण रोक्ने प्रक्रियामा पनि सहमत हुन सकेन । सहमतिमा संयुक्तराज्य अमेरिकाले भाँजो हालेको कूटनीतिज्ञहरू बताउँछन् । हमास रेडियो र टेलिभिजनले भिडन्तमा दुई इजरायली सैनिकलाई नियन्त्रणमा लिइएको बताएका छन् । तर, इजरायली सैनिकले यसबारे जानकारी नभएको बताएको छ । इजरायलले आक्रमणलाई आवश्यक परेमा बृहत् र विस्तार गर्दै लाने इजरायली प्रतिरक्षामन्त्री यहुद बाराकले बताएका छन् । एक साताअगाडिदेखि सुरु भएको इजरायली आक्रमणमा चार सय ५० प्यालेस्टाइनीको मृत्यु भैसकेको छ । मर्नेहरूमा एक चौथाई सर्वसाधारण रहेका छन् । शनिबार राति भएको बमबारीमा २० जनाको मृत्यु भएको छ । इजरायली सेनाले ४० स्थानमा आक्रमण गरेको बताइएको छ । गाजापट्टीमा सर्वसाधारण जनताको जीवन असाध्यै कष्टप्रद भएको छ । जनतालाई अत्यावश्यक सामग्री पानी, खाना र औषधी उपचारको समस्या परेको मानवीय सहयोग संस्थाले बताएका छन् । विश्वभर प्यालेस्टाइनविरुद्ध इजरायली आक्रमणको विरोध प्रदर्शन भइरहेको छ । फ्रन्सको राजधानी पेरिसमा २० हजार प्रदर्शनकारीले इजरायली आक्रमणको विरोध गर्दै प्रदर्शन गरे । लन्डनमा पनि करिब दस हजारको संख्यामा रहेका प्रदर्शनकारीले आक्रमणको विरोध गरेका छन् । इजरायलमा पनि शान्ति समूह र इजरायली अरब समुदायले आक्रमणको विरोध गरेका छन् ।

No comments: