News

Jan 5, 2009

१२ वर्षे बालकले आफ्नै आमाको गोली हानेर हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्तराज्य अमेरिकाकाको अदालतले एक १२ वर्षे बालकलाई आफ्नै आमाको गोली हानेर हत्या गरेको अभियोगको दोषी ठहर्‍याएको छ । घरेलु कामकाजका विषयमा आमाछोराको विवाद भएपछि १२ वर्षे छोराले एक वर्षअगाडि आमाको गोली हानी हत्या गरेका हुन् । उनले आमालाई लगातार आठवटा गोली हानेका थिए । एरिजोनाको अदालतका अनुसार १२ वर्षे बालकले आमा सारा म्याडि्रडलाई जानीबुझेर नै गोली हानेर मारेको वकिलहरूले प्रमाणित गरेका छन् । कम उमेरका भएकाले बालकको पहिचान गोप्य राखिएको छ । यी बालकलाई बाल अपराधीका रूपमा राखिएको थियो । उनीविरुद्ध २३ जनवरीमा सजाय सुनाइनेछ । घरेलु कामकाजका विषयमा आमा र छोराको भनाभन भएपछि छोराले आमालाई गोली हानेर मारेको बताइएको छ । सुत्ने कोठाको दराजबाट बन्दुक झिकेर ती बालकले आमा सारा म्याडि्रडलाई लगातार आठपटक गोली हाने । साराका १० वर्षदेखिका ब्वाइफ्रेन्ड अल्फोन्सो मुन्जोले बालकले आमालाई गोली हानेपछि खाली बन्दुक आफूलाई दिएको बताएका छन् । बालकलाई आपत्कालीन स्थितिमा बन्दुक चलाउन आफूले नै सिकाएको मुन्जोले बताएका छन् । आमाको हत्या गर्ने बालकको कुनै मनसाय नभएको उनका वकिलले बताएका छन् । आफूलाई आमाले बारम्बार हप्काउने र थप्पड हान्ने गरेको बालकले बताएका छन् । सरकारी वकिल बालकलाई बालिग भएपछि मात्र मुद्दा चलाउन चाहन्थे । तर, मनोचिकित्सकको रिपोर्ट आएपछि न्यायाधीशले यस मुद्दाको सुनुवाई बाल न्यायालयको अधीनमा हुने फैसला गरे । मनोचिकित्सकका अनुसार बालकलाई आमाको गालीको शाब्दिक तथा शारीरिक असर परेको छ । बालअपराध न्याय-प्रणालीअन्तर्गत बालकलाई सुधार्न सकिने पनि बताइएको छ । एरिजोनाको कानुनअनुसार बालकलाई १८ वर्षसम्म मात्र बालसुधार-गृहमा राख्न सकिन्छ ।

No comments: