News

Jan 4, 2009

माओवादी कार्यकर्ताले जबर्जस्ती राजीनामा गर्न लगाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रूपन्देहीको एक विद्यालयकी प्रधानाध्यापिकाले माओवादी कार्यकर्ताले आफूलाई कोठामा थुनेर जबर्जस्ती राजीनामा गर्न लगाएको भन्दै न्यायका लागि हारगुहार गरेकी छिन् । देवदह-९ चरङेस्थित सीता निमाविकी प्रअ बुटवल नगरपालिका-४ जितगढीनिवासी कमला खनालले माओवादीले जबर्जस्ती राजीनामा गर्न लगाएको आरोप लगाउँदै मानवअधिकार आयोगमा उजुरी दिएकी छिन् ।आफूलाई यातना दिएर राजीनामा गराएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, राजनीतिक दल, मानवअधिकारवादी संस्था इन्सेक, पत्रकार महासंघमा पनि न्यायका लागि अपिल गरेकी छिन् ।माओवादीका स्थानीय कार्यकर्तासमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर कुँवर, माओवादीका जिल्ला सदस्य उदयबहादुर पुनसहितका वाइसिएल कार्यकर्ता, क्रान्तिकारी विद्यार्थी तथा माओवादी कार्यकर्ताले गत ९ पुसमा विद्यालयको कोठामा थुनेर यातना दिई आफूलाई राजीनामा दिन बाध्य पारेको उनको आरोप छ । 'शिक्षण अनुमतिपत्र नभएका व्यक्तिको निवेदन दर्ता गर्न नमानेको भन्दै कोठामा थुनेर उनीहरूले 'हाम्रा मान्छेको निवेदन दर्ता नगर्ने भए तुरुन्त राजीनामा गर' भनेर धम्क्याए अनि जबर्जस्ती राजीनामा गराए,' उनले भनिन् ।शिक्षण अनुमतिपत्र नभएका स्थानीय एकराज शर्मालाई राहत कोटामा राख्न दबाब दिएको र एकराजको निवेदन दर्ता गर्न नमान्दा मोटरसाइकलमा आएका चार/पाँचजना माओवादी कार्यकर्तासमेतले चारैतिरबाट घेरा हाली आफूलाई राजीनामा गर्न लगाएको प्रअ खनालको आरोप छ । एकराज विद्यालयमा केही समयदेखि निजी स्रोतबाट काम गर्दै आएका छन् । प्रअ खनाल विगत १५ वर्षदेखि सो विद्यालयमा अध्यापनरत छिन् । प्रअका रूपमा भने उनी ०६२ सालमा नियुक्त भएकी हुन् । यसैबीच व्यवस्थापन समिति सदस्यहरू धनबहादुर मोक्तान, हस्तबहादुर थापा, दलका प्रतिनिधि तथा अभिभावकले प्रअ खनालको पुनर्बहालीको माग गर्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् ।कांग्रेस रूपन्देहीका सहसभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गरी प्रधानाध्यापिकामाथि भएको दुव्र्यवहारको भत्र्सना गरेका छन् ।

No comments: