News

Jan 4, 2009

राजनीतिक परिदृश्यबाट बिलाए परवेज मुसर्रफ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकपटक चर्चाको शिखरमा रहेका पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ २००८ मा पदबाट राजीनामा दिएपछि राजनीतिक परिदृश्यबाट बिलाएका छन् । आफ्नो कार्यकालमा विश्व-राजनीतिक गतिविधिमा नै हलचल मच्चाउने भूमिकामा रहेका पाकिस्तानी राष्ट्रपति मुसर्रफले गठबन्धन सरकारले महाअभियोग लगाउने दबाबका कारण २००८, अगस्ट ८ मा टेलिभिजन सम्बोधन गरेर राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । १२ अक्टोबर १९९९ मा रक्तपातविहीन सैनिक 'कू' बाट सत्ता हत्याएपछि चर्चाको शिखरमा रहेका मुसर्रफले राजीनामा दिएपछि भने उनको नामसमेत सुनिँदैन । तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सैनिक जनरल मुसर्रफ चढेको जहाजलाई एअरपोर्टमा अवतरण गर्न नदिने आदेश दिएपछि जहाज कराँचीको आकाशमा फन्फनी घुमिरह्यो । आकाशबाटै जनरल मुसर्रफले सरिफलाई सत्ताच्यूत गरे र एअरपोर्टमा ओर्लिए । भनिन्छ, अझै केहीबेर आकाशमै रहनुपरेको भए जहाजको इन्धन सकिएर दुर्घटना हुने थियो । मुसर्रफले सरकारमाथि नियन्त्रण लिए । सरिफलाई घरमै नजरबन्दमा राखियो र पछि उनी साउदी अरेबियामा निर्वासित भए । मुसर्रफले सत्ता हत्याएपछि कैयौं मानिसले अवैध तरिकाले सत्ता हत्याएको भन्दै अदालतमा ऊजुरी गरे । यद्यपि सैनिक जनरल मुसर्रफ न्यायाधीशहरूबाट सन् २००० मा शपथ लिन सफल भए । त्यही साल सर्वोच्च अदालतले मुसर्रफलाई सन् २००२ को अक्टोबरभित्र राष्ट्रिय निर्वाचन गराउन आदेश दियो । आफ्नो शासनलाई वैधता दिलाउन र लम्ब्याउन उनले सन् २००२ को अपि्रलमा जनमत संग्रह गराए । जनमत संग्रहलाई पाकिस्तानका प्रमुख राजनीतिक दलहरूले बहिस्कार गरेका थिए । राजनीतिक दलहरूले ३० प्रतिशत मतदाताले मात्र मतदान गरेका र व्यापक धाँधली भएको आरोप लगाए । केही सातापछि मुसर्रफ स्वयंले मतदानमा अनियमितता भएको आरोप लगाए । सन् २००७ मा सर्वोच्च अदालतले २००७ को विरोधाभाषपूर्ण निर्वाचनबाट उनी राष्ट्रपतिमा पुनर्निर्वाचित भएको कुराको वैधतामाथि परेको रिटको फैसला सुनाउनुभन्दा ठीक अघिल्लो दिन सैनिक जनरल मुसर्रफले मुलुकको संविधानलाई नै 'सस्पेन्ड' गरिदिए र प्रधानन्यायाधीश इफ्तिखार चौधरीसमेत सर्वोच्च अदालतका कैयौं न्यायाधीश र वकिललाई जेल चलान गरे । राजनीतिक विरोधीहरूलाई पनि गिरफ्तार गर्ने आदेश दिए । नोभेम्बरमा उनले मुलुकमा संकटकालको घोषणा गरे जुन १५ महिना लम्बियो । यो अविधभरि संविधान निलम्बन नै रह्यो । सन् २००८ को अगस्टमा गठबन्धन सरकारले मुसर्रफले पदत्याग नगरे महाभियोग लगाउने दबाब दिएपछि उनले राष्ट्रपतिको पदबाट राजीनामा दिए । आफ्नो शासनकालमा मुसर्रफले अमेरिकी राष्ट्रपति जर्ज बुसको आतंकवादविरोधी अभियानमा सक्रिय समर्थन दिएर अमेरिकासँग सम्बन्ध गाढा बनाएका थिए ।

No comments: