News

Jan 8, 2009

सद्भावना पार्टीका सहमहामन्त्री रिभल्वरसहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सद्भावना पार्टीका सहमहामन्त्री विकासकुमार तिवारी रिभल्वरसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले मंगलबार उनलाई काठमाडौं महानगरपालिका महादेवस्थानबाट पक्राउ गरेको हो । तिवारी अपहरण, जबर्जस्ती चन्दा असुली र लुटपाटमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी यसअघि पूर्वआपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताका निजी सचिवसमेत थिए । परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू सरिता गिरी अध्यक्ष रहेको सद्भावनाको सहमहामन्त्री रहेको स्वीकार गरे । तिवारी सप्तरी राजविराजका बासिन्दा हुन् । स्रोतका अनुसार तिवारी यसअघि समेत हतियारसहित पक्राउ परेका थिए । तर, तत्कालीन मन्त्री गुप्ताले उनलाई छुटाएर आफ्नो पिए बनाएका थिए । परिसर प्रमुख नवराज सिलवालले तिवारीको राजनीतिक संलग्नताको बारेमा जानकारी नभएको बताए । उनले भने, 'कुन राजनीतिक दलको हो त्यो मतलबको विषय भएन । हतियारसहित पक्राउ परेका छन्, कानुनको आँखामा यिनी अभियुक्त हुन् ।'प्रहरीले बुधबार तिवारीसँगै अन्य दुईजना अभियुक्तलाई समेत सार्वजनिक गरेको थियो । पक्राउ परेका अन्य दुई अभियुक्तसमेत हतियारसहित पक्राउ परेका हुन् । सिन्धुपाल्चोक तौथली गाविस-५ घर भएका १९ वर्षीय विकास श्रेष्ठ अमेरिकामा बनेको पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ परेका थिए । प्रहरीले उनलाई काठमाडौं महानगरपालिका म्हैपीबाट पक्राउ गरेको हो । उनी यसअघि अपहरण तथा फिरौती संकलनको अभियोगमा समेत पक्राउ परिसकेको सिलवालले बताए । काठमाडौं विष्णु-९ का २४ वर्षीय अनिल खड्कासमेत अमेरिकामा बनेको पेस्तोल र चार राउन्ड गोलीसहित पक्राउ परेका छन् । उनलाई काठमाडौं महानगरपालिका ३४ भीमसेनगोलाबाट पक्राउ गरिएको परिसरले बताएको छ । छुट्टाछुट्टै स्थानबाट पक्राउ तीनैजना अभियुक्त उपत्यकाका मारवाडी समुदायका व्यापारीलाई धम्क्याएर फिरौती रकम संकलनमा सक्रिय रहेको प्रहरीको भनाइ छ । तीनैजना अभियुक्तमाथि हातहतियार तथा खरखजाना ऐनअनुसार कारबाही अगाडि बढाइएको परिसर प्रमुख सिलवालले जानकारी दिए ।

No comments: