News

Jan 8, 2009

५ र ६ वर्षका बच्चा अफ्रीकामा बिहे गर्न घरबाट भागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जर्मनी/ जर्मनीका ५ र ६ वर्षका बच्चा अफ्रीकामा बिहे गर्न बाबुआमा सुतेका बेला घरबाट भागेका छन् । अफ्रीकाको घमाइलो वातावरणमा बिहे गर्न ६ वर्षे मिका र ५ वर्षे एना-लिना भागेका हुन् । उनीहरूको साथमा बिहेको साक्षीका रूपमा एना-लिनाकी सातवर्षे दिदी पनि अफ्रीका हिँडेकी थिइन् । उनीहरूले आफ्नो साथमा सुइमिङ कस्टम, कालो चस्मा र लुगाफाटा झोलामा कोचेर लगेका थिए । बिहे गर्न लागेका प्रेमी-प्रेमिका मिका, एना-लिना र दिदी बाबुआमा सुतेका बेला भागेर एक घन्टा हिँडेर स्थानीय रेलवे स्टेसनमा पुगेका थिए । उनीहरू त्यहाँबाट एयरपोर्ट जाने रेलवे स्टेसनमा चढे । रेलवे स्टेसनका गार्डले तीन बालबालिका एक्लै रेल चढेकाले केरकार गरेर प्रहरीलाई सम्पर्क गरे । प्रहरी अधिकारीले बालबालिकालाई पैसा र टिकटविना कहीँ जान नसकिने भनेर फकाए र पुलिस स्टेसन ल्याए । बालबालिकाका बाबुआमाले उनीहरूलाई पुलिस स्टेसनबाट घर लगे । आफूहरूबीच गहिरो प्रेम भएकाले घमाइलो स्थानमा गएर 'बिहे' गर्न लागेको उनीहरूले प्रहरीलाई बताए । माइक र एना-लिनाको परिवारले नयाँ वर्षसँगै मनाएको थियो । मिकाले प्रेमिका र उनकी दिदीलाई आफ्नो भर्खरैको इटाली भ्रमणबारेमा सुनाए ।

No comments: