News

Jan 10, 2009

फोरमले सरकार छाड्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको तेश्रो ठूलो घटक मधेशी जनअधिकार फोरमले विगतका सहमति सरकारले तत्काल पुरा नगरे जनुसुकै बेला पनि सरकार छाड्ने चेतावनी दिएको छ। तराईको अर्को दल तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाले सरकारको समर्थन फिर्ता लिंदै आन्दोलनको घोषणा गरेको केही दिनपछि फोरमले त्यस्तो चेतावनी दिएको हो। तीव्र मतभेद देखा परेको फोरमभित्रको फरक, फरक समूहको नेतृत्व गर्ने ठानिएका संयोजक उपेन्द्र यादव र अर्का नेता विजयकुमार गच्छदारले शुक्रबार एउटै मञ्चमा उभिएर पार्टी नफुट्ने दावी गरेका थिए। आपसमा हांसो र ख्याल ठट्टा गर्दै बिराटनगरमा आयोजित एउटा पत्रकार सम्मेलनमा संयोजक यादव र नेता गच्छदारले विगतका सहमति पालना नभए जुनसुकै बेला पार्टी सरकारबाट हट्ने तयारीमा रहेको बताए। संयोजक यादवल भने, विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न ढीलाइ वा बखेडा सिर्जना गरिए फोरम कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छ।
तराईको दोस्रो ठूलो दल तराई मधेस लोकतान्त्रिक पार्टीले यसअघि नै सडक आन्दोलनको घोषणा गरिसकेको छ । फोरममा सरकार छाड्ने विषय गम्भीर रूपमा नदेखिए पनि पार्टीकोतर्फबाट सरकारमा सहभागी मन्त्री र संसदीय दलका पदाधिकारीहरू परिवर्तन हुनुपर्ने माग चर्को रूपमा उठिरहेको छ । पार्टीमा उत्पन्न विवादबारे पुस २८ गते बस्ने केन्द्रीय समितिको बैठकमा व्यापक छलफल हुने दुवै नेताले बताए। यादवले भने, पार्टी फुट्न लाग्यो भनेर धेरैले हल्ला गरेका छन्, त्यस्तो हल्ला गर्नेहरू हाम्रो एकताबाट विचलित भएका हुन्। तर भावी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुरा संयोजक यादवको कार्यशैलीमा भरपर्ने संसदीय दलका नेता गच्छदारको धारणा थियो । यादवतर्फ ईंगित गर्दै गच्छदारले भने, पार्टीलाई एकता र विभाजन कुन रोज्ने हो, संयोजककै हातमा छ। नेपाली सेनालाई राजनीतिकरण गर्न नहुने बताउंदै फोरमका दुवै नेताले माओवादी लडाकुलाई अन्यत्र व्यवस्थापन गरेर समस्या सुल्झाउनुपर्ने बताएका थिए।

No comments: