News

Jan 5, 2009

डुंगा पल्टँदा ५० यात्रु बेपत्ता चारजनाको शव फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीमा आइतबार डुंगा पल्टँदा ५० यात्रु बेपत्ता भएका छन् । बेपत्तामध्ये चारजनाको शव फेला परेको छ । मृत्यु हुनेमा इटहरीका ३५ वर्षीय सन्दीप राई र सुनसरी श्रीपुरका २८ वर्षीय समिद मियाँ छन् । अन्य दुईजनाको सनाखत हुन नसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।डुंगामा कति यात्रु थिए भन्ने यकिन नभएको भण्डारीले जानकारी दिएका छन् । भारतको सुपौल जिल्लामा एक महिला र एक पुरुषको शब फेला परेको भारतीय प्रहरीले आफूलाई जानकारी दिएको प्रजिअ भण्डारीले बताए । उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए ।काँकडभिट्टाबाट दुईवटा बसमा आएका यात्रु चढेको डुंगा सप्तकोसीको मूल भँगालोमा पुगेपछि आइतबार बिहान साढे सात बजे पल्टिएको थियो । बेपत्तामध्ये ओखलढुंगाका निमबहादुर तामाङ, मीनबहादुर तामाङ, जीवन राई, झापा काँकडभिट्टाकी हरिकुमारी मगर र भोजपुरका उमेश कार्कीको नाम खुलेको छ । १९ जना यात्रुलाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेको प्रजिअ भण्डारीले बताए । उनका अनुसार क्षमताभन्दा बढी यात्रु चढाएकाले डंुगा नियन्त्रित भई पल्टिएको हो ।बाक्लो कुहिरो लागेको बेला प्रहरीले चालकलाई डुंगा नचलाउन अनुरोध गर्दागर्दै जबर्जस्ती डंुगामा यात्रु हालेर चलाएकाले मूल भँगालोमा पुगेपछि कुहिरोले बाटो नदेखेर डुंगा पल्टिएको सो डुंगामा सवार सुनसरी लौकही-५ का सलिम मियाँले बताए ।नदीमा बेपत्ता यात्रुको खोजी गर्न पाँचवटा डुंगा परिचालन गरिएको कोसी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक परशुराम खत्रीले बताए । डुंगा पल्टिएपछि सुनसरीको लौकही क्षेत्रबाट सञ्चालनमा आउने सबै डुंगाले यात्रु ओर्साने काम बन्द गरेका छन् । डुंगा पल्टिनासाथ ठूलो कोलाहल मच्चिएको बसचालक श्याम माझीले बताए । बाक्लो कुहिरोका कारण उद्धारकर्ताले तत्काल उद्धार गर्न नसकेको माझीले जानकारी दिए ।नदीभित्र रहेको डुंगा निकाल्न प्रहरीले गोताखोरलाई परिचालन गरेको सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले बताएका छन् । तर, डंुगा नदीभित्र घोप्टिएर गाडिएकाले गोतारखोरले पनि निकाल्न सकेका छैनन् । सशस्त्र प्रहरी, नेपाली सेना, जनपद प्रहरी र स्थानीयवासी उद्धारमा खटिएको श्रेष्ठले बताए । पूर्वबाट गएको मे१ख ८२१ नम्बरको भाग्यरेखा र मे१ख ८८३ नम्वरको मुनाल बसमा त्यहाँ पुगेका यात्रु काठमाडौंका लागि सुनसरीको भन्टाबारीतर्फ जाने क्रममा बाक्लो हुस्सुका बीच कोसी नदी तर्न डुंगा चढेका थिए । डंगामा लोड गरिएको दुईवटा मोटरसाइकल पनि नदीभित्रै हराएको यात्रुले बताएका छन् । करिब ७५ जना क्षमताको सो डुंगामा जानेमध्ये सुरक्षाकर्मीद्वारा उद्धार गरिएकामा ओखलढुंगाका रमेश नेपाली, भारत पिप्राहाका हैदर अली, बुटवलका लक्ष्मीकान्त भण्डारी, भद्रपुरकी शोभा भण्डारी, ज्ञानु श्रेष्ठ, पूर्ण न्यौपाने, ओखलढुंगाका वीरबहादुर थापा र सर्लाहीका जगन्नाथ यादव छन् ।यसैगरी, काँकडभिट्टाका खगेन्द्र थापा, निर्मला श्रेष्ठ, लाहानका घनश्याम मगर, उदयपुरका मोतीलाल ढकाल, इटहरीका सुरेश यादव, संस्कार यादव, जनकपुरका भोलाप्रसाद यादव, उदयपुरका गुणबहादुर यादव तथा वतन नखुलेकी ज्ञानु पुलामी र दुई माझी छन् । माझीहरू भने डुंगा दुर्घटना हुनासाथ फरार रहेको प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

No comments: