News

Jan 14, 2009

फिल्म सुटिङका क्रममा नायकको पाता खुस्कियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'दीपशिखा' फिल्म सुटिङका क्रममा नवनायक जीवन लुइँटेलको देब्रे हातको पाता खुस्किएको छ । घटनाक्रम अनुसार, काठमाडौंको चोभारमा क्लाइमेक्स सिनको अन्तिम सट खिच्ने काम भइरहेको थियो । अभिनय गर्दै थिए जीवन लुइँटेल, नीरज बराल र अरुणिमा लम्साल । नीरजले हेलिकोप्टरबाट जीवन र अरुणिमालाई लखेट्नुपर्ने थियो भने जमिनमा भाग्दै थिए उनीहरू । हेलिकोप्टरमा सवार 'भिलेन' को खेदाइबाट बच्दै भागिरहेका प्रेमी-प्रेमिकाको जोडी जीवन-अरुणिमा एकैपटक हाम फाल्नुपर्ने थियो । उनीहरूको हामफलाइ अघि-पछि भएका कारण पहिलो टेक 'ओके' भएन । त्यसपछि दोस्रो टेक लिने तयारी भयो । दोस्रो टेकमा भने जीवन भीरबाट हामफाल्दा लड्न पुगे र उनको देब्रे हातको 'सोल्जर ज्वाइन्ट' फुत्कियो । सट त ओके भयो । तर, हिरो भने घाइते । जीवनलाई तत्कालै सानेपाको स्टार हस्पिटल लगियो । हाल जीवन 'रेस्ट' मा छन् । हात देखाउँदै भने, 'डक्टरले एक महिना आराम गर्नुपर्छ भनेका छन् ।' नरेश पौडेलको निर्माण- निर्देशन रहेको दीपशिखाको सुटिङ सिद्धिएको छ । निर्देशक पौडेल भन्छन्, 'धन्न सुटिङ सिद्धिएको थियो । संजोग पनि कस्तो भने, सुटिङको ५१ औँ दिन, त्यसमाथि पनि अन्तिम सट । सेफ्टी त राखेका थियौँ । तर, जीवनलाई अरुणिमाको लात्ती पनि लागेछ । हातको ज्वाइन्ट नै फुत्किएछ ।'

No comments: