लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ/ दुई छोरा र एक छोरी भएकी श्रीमती हुँदाहुँदै दोस्री श्रीमती भित्र्याएर जेठी श्रीमतीको बिचल्ली बनाउने श्रीमान्लाई कान्छी श्रीमतीले सम्बन्ध-विच्छेद गर्ने भएकी छिन् । आफ्नी सौता श्रीमान्सँग सम्बन्ध-विच्छेद गर्न तयार भएपछि जेठी श्रीमतीले राहतको सास फेरेकी छिन् । श्रीमान् जैदी- ७ का डिलबहादुर रानाले दोस्रो विवाह गरेपछि जेठी श्रीमती प्रेमकुमारी न्याय खोज्दै २१ दिनकी छोरी बोकेर प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरी कार्यालयमा भएको लामो छलफलपछि डिलकुमारकी कान्छी श्रीमती चमेलीले श्रीमान्सँग सम्बन्ध-विच्छेद गर्ने निर्णय गरेकी हुन् । दुई छोरा र एक छोरीकी आमा प्रेमकुमारी नौ महिनाकी गर्भवती अवस्थामा श्रीमान्ले ३ मंसिरमा दोस्रो विवाह गरेपछि बिचल्लीमा परेकी थिइन् । परपुरुषसँग सम्बन्ध राखेको भन्दै देवर र सासूससुराले घरमा बस्न नदिएपछि प्रेमकुमारी माइतीमा बस्दै आएकी थिइन् । प्रहरी कार्यालयमा महिलाअधिकारकर्मी, पीडक र पीडितबीच पटक-पटक छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको थिएन । तर, आइतबार भएको छलफलमा कान्छी श्रीमती चमेली श्रीमान् डिलबहादुरसँग सम्बन्ध-विच्छेद गर्न राजी भएपछि बहुविवाहको मुद्दा सल्टिएको छ । घटनालाई प्रहरी र महिलाअधिकारवादीले सार्वजनिक गर्न चाहेका छैनन् । यस विषयमा प्रहरी कार्यालय र महिलाअधिकारवादीले कुनै प्रतिक्रिया दिन चाहेनन् । स्रोतका अनुसार चमेली थापालाई ५० हजार क्षतिपूर्ति दिने गरी सम्बन्ध-विच्छेदका लागि मौखिक सहमति भएको छ । महिलाअधिकारकर्मीको सहयोगमा आइतबार नै धौलागिरि अञ्चल अस्पतालमा चमेलीको गर्भ जाँच गरिएको समेत स्रोतले बताएको छ ।
No comments:
Post a Comment