News

Jan 13, 2009

बोक्सीको आरोपमा परिवारकै सदस्यले चरम यातना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बोक्सीको आरोपमा विराटनगरमा एक महिलालाई परिवारकै सदस्यले चरम यातना दिएका छन् । पीडित महिलाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी छिन् । विराटनगर उपमहानगरपालिका- ५ इक्राहीकी गीतादेवी बिनलाई बोक्सी लगाएर बाख्रा मारेको भन्दै परिवारकै सदस्यले यातना दिएका हुन् । देउरानीहरू शान्तिदेवी, रेखादेवी र दयारानीले डोरीले बाँधेर उनलाई कुटपिट गरेका हुन् । 'यो बोक्सी हो, यसलाई कुट भन्दै देउरानीहरू मिलेर मलाई कुटे,' जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिन आएकी गीताले आइतबार आफूलाई यातना दिएको बताउँदै भनिन्, 'माइली देउरानी शान्तिदेवीले यो बोक्सी हो डोरीले बाँधेर कुट भनिन्, रेखाले डोरी ल्याई मेरो हातखुटा बाँधिन्, अनि सबैले बेस्सरी कुटे ।' उनले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । जग्गासम्बन्धी विवाद झिकेर आइतबार बिहान देउरानी शान्तिदेवीले तथानाम गाली गर्दा आफूले 'घरको कुरा घरमै मिलाउनुपर्छ किन हल्ला गरेको' भनेको तर उनले बोक्सीको आरोप लगाएर कुटपिट गरिएको पीडित गीतादेवीले बताइन् । 'यो बोक्सी हो, मेरो बाख्रा पनि यही बोक्सीले खाई, यसलाई कुट,' शान्तिदेवीले तथानाम भनेको उल्लेख गर्दै उनले भनिन्, 'त्यसपछि तीनैजना मिलेर यसलाई गाउँमा बस्न दिनु हुन्न भन्दै कुटिरहे ।' आफू कुटिँदा श्रीमान् सदानन्द बिनले पनि नछुट्याएको पीडित महिलाले बताइन् । 'हाम्रो परम्परामा भाइकी श्रीमतीलाई जेठाजुले छुनु हुँदैन,' कुसंस्कारका कारण श्रीमती कुटिँदा पनि हेरेर बसेका सदानन्दले भने, 'श्रीमतीलाई कुटिरहँदा रमिते भएर बस्नुपर्‍यो ।' उनी पनि श्रीमतीसँगै उजुरी दिन प्रहरी कार्यालय पुगेका थिए । पीडित महिलाका अनुसार यसअघि पनि उनलाई बोक्सीको आरोपमा देवर र देउरानीले यातना दिएका थिए । 'अझ देवरहरू थिएनन् र, उनीहरू भएको भए मलाई अझै कुट्थे । पोहोर साल पनि बोक्सी भनेर मलाई कुटे ।' नेमुवा प्रहरी चौकीमा त्यतिवेला फेरि नकुट्ने प्रतिबद्धता गरी छुटेका उनीहरूले यातना दिन अझै नछोडेको गीतादेवीले बताइन् । उनीहरूले शारीरिक र मानसिक यातना दिँदै आएको पनि उनले जानकारी दिइन् । गीताका श्रीमान् सदानन्द रिक्सा-चालक हुन् । उनकै कमाइबाट पाँचजनाको परिवार पालिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको महिला प्रमुख सुमा कार्कीले घटनाका बारेमा अनुसन्धान थालिएको बताउँदै दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताइन् ।

No comments: