News

Jan 15, 2009

एसियाली महिलामा गर्भपतन गर्नेको संख्या बढी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गर्भपतन गराउने एसियाली मूलका बेलायती महिलाको संख्या बढेको स्वास्थ्य विभागले उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार २००७ मा सबै उमेरका १५ हजार एक सय ९७ महिलाले गर्भपतन गराएका थिए । २००३ मा केवल १० हजार ८४ महिलाले मात्र गर्भपतन गराएका थिए । आजभोलि एसियाली महिला यौन विषयमा बढी स्वतन्त्र भएकाले गर्भपतन गर्नेको संख्या बढेको बताइएको छ । लन्डनको ब्रुक एडभाइजर क्लिनिकका स्वास्थ्य सल्लाहकार पैनी बारबर भन्छिन्, 'हामीकहाँ एसियाली किशोरकिशोरी धेरै संख्यामा आउँछन् । उनीहरूले गर्भनिरोधक साधन प्रयोग नगरी यौन-सम्पर्क गरिसकेका हुन्छन् । त्यसैले उनीहरूलाई गर्भपतन गर्ने सल्लाह बढी दिने गरिन्छ ।' बर्गिंघमको मुख्य गर्भपतन केन्द्र द कैलथोर्प क्लिनिकमा पछिल्ला पाँच वर्षमा गर्भपतन गराउनेको सख्या पाँचगुना बढेको छ । क्लिनिककी सञ्चालिका क्यारोलिन फिलिपका अनुसार आफ्नो पहिचान खुल्ने डरले कयौँ महिला आफ्ना चिकित्सकसँग उपचारका लागि जाँदैनन् । पारिवार कल्याण क्लिनिक पनि उनीहरूले मन नपराउने फिलिप बताउँछिन् । किशोरावस्थामा गर्भधारणको दर बेलायतमा युरोपका अन्य देशको तुलनामा उच्च छ । यस समस्याको समाधान गर्न सरकारले स्कुलमा परिवार कल्याण नर्सको नियुक्त गरेका छन् ।

No comments: