News

Jan 15, 2009

पत्रकार उमा सिंहको हत्याबारे वास्तविकता जनसमक्ष ल्याउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पत्रकार महासङ्घका सभापति धर्मेन्द्र झाले पत्रकार उमा सिंहको हत्याबारे यथाशीघ्र अनुसन्धान गरी वास्तविकता जनसमक्ष ल्याउन माग गर्नुभएको छ । महासंघद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत आइतबार अज्ञात समूहबाट हत्या गरिएकी पत्रकार स्व.सिंहको हत्यारा पत्ता लगाई कारबाही नगरिएसम्म महासङ्घले विरोधका कार्यक्रम जारी राख्ने जानकारी दिनुभयो ।सिंहको हत्या भएको भोलिपल्ट महासङ्घको एक टोलीसहित जनकपुर पुगेर फर्कनुभएका सभापति झाले स्व.सिंहको हत्याबारे छानबिन र अनुसन्धान गरिँदा उहाँको पारिवारिक अवस्थाबारे पनि अनुसन्धान गर्न जरुरी भएको उल्लेख गर्नुभयो । स्व.सिंहको हत्या नियोजित र सङ्गठित रूपमा भएको उल्लेख गर्दै उहाँले स्व.सिंहका आमालगायत परिवारका सबैको सुरक्षा हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा टोलीमा संलग्न रहनुभएका महासङ्घका सल्लाहकार शिव गाउँले, कार्यसमितिका सदस्यद्वय शीतल साह र यशोदा तिम्सिना, पत्रकारद्वय कनकमणि दीक्षित र नारायण वाग्लेले पत्रकार सिंहको हत्या बदलाको भावनाले योजनाबद्ध रूपमा गरिएको बताउँदै हत्याबारे अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने र घटनासम्बन्धमा राजनीतिक दबाबरहित छानबिन गरिनुपर्नेमा जोड दिनुभयो ।

No comments: